अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा एक नेपाली परिवारमा विभत्स हत्याकाण्ड भएको छ ।

स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५ः१५ बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टीको मान्तुवामा एक नेपालीले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् ।

गत वर्ष २०२५ नोभेम्बर १२ मा ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) प्राप्त भएपछि भर्जिनियाको फेयरक्याक्सस्थित छोरीको घरमा बस्दै आएका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी छोरी र श्रीमतीको हत्या गरेका हुन् ।

छत्रबहादुरले १० इन्च लामो धारिलो हतियार (दाउ) प्रहार गरेर आफ्नी ५१ बर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेको फियरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले जनाएको छ । फियरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे जानकारी दिँदै हत्यामा संलग्न रहेका आरोपी छत्रबहादुर पनि प्रहरी कारबाहीमा मारिएको बताएका छन् । यसैगरी घटनामा छत्रबहादुरले आफ्नो ज्वाइँ सन्तोषकुमार बस्नेतमाथि पनि हतियार प्रहार गरेका थिए । ३५ वर्षीय सन्तोषकुमार हतियार प्रहारपछि गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते सन्तोषको हाल उपचार भइरहेको छ । उनी नेपालमा हुँदा विराटनगर निवासी थिए ।

घटनामा एक वर्षीय बालक बच्न सफल भएका छन् । प्रहरीले हालसम्म बालकको विवरण खुलाएको छैन । बालक ममता र सन्तोषका छोरा हुन् । प्रहरीका अनुसार बालकको अवस्था सकुशल रहेको र प्रहरीले उनलाई सुरक्षित अवस्थामा बालबालिका स्याहार केन्द्र (चाइल्ड केयर)लाई बुझाइसकेको छ । नेपालमा उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित रामपुर घर भएका छत्रबहादुर मानसिक रोगसम्बन्धी समस्यामा थिए । उनले लामो समयदेखि मानसिक रोगसम्बन्धी औषधिसमेत सेवन गर्दै आएको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्