झापा,फागुन १३ । नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दिएको झापा ५ मा निर्वाचन सुरक्षालाई लक्षित गरी जनपद प्रहरीले पाँचजना डीएसपी खटाएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहेकोमा गृह मन्त्रालयले थप चारजना डीएसपी पठाएको हो । झापा ५ को प्रत्येक पालिकामा एक–एकजना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । गौरीगंज , गौरादह , कमलमा पनि डीएसपीको कमाण्ड रहेको छ ।
झापा ५ मा मात्र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो । करिव दुई साताअघि कोशी प्रदेश प्रहरी कार्यालयबाट सयजना प्रहरी झापा ५ मा ल्याइएकोमा फेरि केही दिनअघि चारजना डीएसपीसहित ठूलो संख्यामा प्रहरी गृह मन्त्रालयबाट खटिएका छन् ।
निर्वाचनलाई लक्षित गरी झापामा तीन गुणा प्रहरी थप गरिएको झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् । उनले झापामा निर्वाचन गराउन यथेष्ट प्रहरी रहेको जानकारी दिइन् ।
निर्वाचनलाई लक्षित गरी सरकारले सातवटै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट थप टोली परिचालन गरेको छ । गृह मन्त्रालयले दुवै प्रहरी प्रधान कार्यालयबाट डीएसपीदेखि एसएसपीसम्मको नेतृत्वमा थप टोली खटाएको हो । उनीहरूलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ । झापामा थप एकजना जनपद प्रहरीका एसपी आउने चर्चा रहेपनि अहिलेसम्म आइपुगेका छैनन् ।



