बिर्तामोड, फागुन १३ । बिर्तामोड बसपार्क क्षेत्रमा रहेको ५१ बिगाह जग्गाको रोक्का फुकुवा गर्ने सहमतिपछि आन्दोलनरत् पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

अबदेखि उम्मेदवारहरुलाई चुनाव प्रचारप्रसारका लागि उनीहरुले बसपार्क क्षेत्रमा प्रवेश गर्न दिने भएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले ६ बुँदे समझदारी गर्दै लामो समयदेखिको विवादलाई निकास दिएको हो ।
सहमतिसँगै बसपार्कको ५१ विगाहा क्षेत्रमा राजनीतिक दल र उम्मेदवारहरुलाई ‘प्रवेश निषेध’ लेखिएका होर्डिङ बोर्ड तथा व्यानरहरु हटाइएको छ । बोर्ड हटाइएसँगै दल र उम्मेदवारहरुलाई अब उक्त क्षेत्रमा मत माग्न र राजनीतिक गतिविधि सञ्चालनका लागि प्रवेश खुल्ला भएको छ । त्यहाँ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने गरी आन्दोलनरत् पक्षले सहमति जनाएका हुन् । राजनीतिक दलहरुले पीडितलाई न्याय दिलाउन जस्तोसुकै परिस्थितिमा पनि साथ दिने प्रतिबद्धता जनाए ।
विगत लामो समयदेखि बिर्तामोड नगरपालिका–५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११मा रहेको जग्गा विभागीय कार्यालयबाट रोक्का भएपछि स्थानीयबासीहरू आन्दोलित थिए । उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गरी राजनीतिक दल र उम्मेदवारहरूलाई क्षेत्र प्रवेशमा रोक लगाउने तथा निर्वाचन सम्बन्धी गतिविधिमा निषेध गर्ने घोषणा गरेका थिए ।



