झापा, फागुन १४ । झापाको बिर्तामोड र इलामको सर्योदय नगरपालिकाबाट प्रहरीले करिव २८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

आज बिहान ८ बजे बिर्तामोड ८ गरामनीस्थित भद्रपुर– बिर्तामोड सडकखण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्लुबी ७४ डब्लु १२९६ नम्बरको मारुती भ्यानमा भन्सार छली गरी ल्याएको सामानहरु अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले फेला पारेको हो ।
गाडीमा विभिन्न घरायसी र मेशिनरी सामानहरु बरामद भएका हुन् । गाडी र बरामद सामान गरी १० लाख ६८ हजार रुपैयाँको मूल्यांकन गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता इलामको सूर्योदय नगरपालिकामा पनि प्रहरीले ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरेको छ ।
आज बिहानको राति २ बजे इलाम सूर्योदय नगरपालिका वडा नं.३ नेचारगाउँस्थित फिक्कल–पशुपतिनगर पक्की सडकखण्डमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट फिक्कलतर्फ आउँदै गरेको प्र.१–०१–००२च ४३९० नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको अवैध भारतीय मदिरा बरामद गरेको हो ।
भारतीय मदिरा हनी बी ब्राण्डी ७१ काटुन (८५२ बोतल) र सिक्किम गोल्डेन मेलोन ब्राण्डी ७८ काटुन (९३६ बोतल) गरी जम्मा १४९ काटुन (१,७८८ बोतल) बरामद भएको हो । अन्दाजी ७ लाख ९६ हजार २०० रुपैयाँको मदिरा र बोलेरो पिकअप गाडीको अन्दाजी मूल्य ९ लाख ७५ हजार गरी जम्मा १७ लाख ७१ हजार २०० रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पशुपतिनगर बुझाइएको छ ।
अवैध सामानसहित गाडीका चालक इलाम सूर्योदय वडा नं.३ बस्ने बर्ष २६ का रोशन प्रधानलाई पनि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।



