दमक, फागुन १४ । चुनावी रिपोर्टिङका क्रममा झापा आइपुगेका ‘हाम्रोमत’ का कार्यकारी सम्पादक पत्रकार अर्जुन आचार्यमाथि नेकपा (एमाले) का कार्यकर्ताहरूले भौतिक आक्रमण गरेका छन्।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आज दिउँसो आक्रमण गरेका हुन्।

बा २५६१ नम्बरको स्कोरपियोमा चढेर आएका फोर्सका सदस्यहरूले आचार्यमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो र सचिवालयको टोलीलाई पछ्याउने क्रममा उक्त घटना भएको हो।

घरदैलो कार्यक्रम भइरहँदा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएका थिए। त्यसपछि आक्रोशित बनेका एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द प्रहार गर्दै दुर्व्यवहार गर्न थालेपछि पत्रकार आचार्यले सो दृश्यको फोटो र भिडियो खिच्न खोजेका थिए। दृश्य कैद गर्न खोज्दा आचार्यमाथि सामूहिक आक्रमण भएको हो।

आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका छन् भने उनको चस्मा समेत फुटाइदिएका छन्। आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ। घटनास्थलमा रहेका अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका थिए।

आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएको पत्रकार रोहित दाहालले जानकारी दिए। चुनावी रिपोर्टिङमा रहेका पत्रकारमाथि भएको यस आक्रमणको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्