झापा, फागुन १५ ।जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला परेको छ ।

हिजो साँझ ७ः३० बजे दमक नगरपालिका वडा न. ६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय दमकबाट अन्दाजी २० मिटर उत्तरपूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्णरुपमा जलेको र हतियारको सम्पुर्ण भागमा खिया लागेको अवस्थामा वाई१३४८७ नम्बरको मार्क ४ राईफल फेला परेको हो ।
उक्त हतियार जेनजी आन्दोलनको क्रममा भदौ २४ गते इप्रका दमकबाट लुटिएको पुष्टि भएको छ । झापामा जेनजी आन्दोलनमा लुटिएका १४ थान हतियार अझै गायव नै रहेको छ ।
भदौ २४ को प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी–थुनुवा नियन्त्रण गर्न चारवटै सुरक्षा निकाले विशेष संयन्त्र परिचालन गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो संयन्त्रलाई ७७ वटै जिल्लामा तैनाथ गराएका हुन् ।
करिब ६ महिनाअघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब १३ सय हतियार लुटिएका/हराएका थिए । तीमध्ये अझै ४ सय हतियार फेला परेका छैनन् । प्रहरीका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएका थिए ।



