झापा, फागुन १५ । निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा ५ मा सुरक्षा निकायले बढी फोकस गरेको छ ।

सुरक्षा समन्वयका लागि बुधबारदेखि एसएसपी पनि खटाइएको छ। झापा र इलाम जिल्लामा समन्वय गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खटाइएको हो । एसएसपी अधिकारी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। प्रतिदिनसंगै कुरा गर्दै एसएसपी अधिकारीले आफूले सबै निर्वाचन क्षेत्रमा चुनावको तयारीका बारेमा अनुगमन र समन्वय गर्ने बताए । उनले सुरक्षा निकायको बढी फोकस झापा ५ मा रहेको जानकारी दिए । उनी अनुगमन तथा समन्वयका लागि भोलि झापा आउँदैछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको छ । राजनीतिक रूपमा मात्र होइन, सुरक्षा रणनीतिक हिसाबले पनि यो क्षेत्र देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । सुरक्षा संवेदनशीलताको विश्लेषण गरी झापामा डिएसपी र इन्स्पेक्टरसहित थप मद्दतका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो।

झापा जिल्लाको नियमित कमान्ड एसपी बसुन्धरा खड्काले गर्दै आएकी छिन्। उच्च संवेदनशीलताको मूल्यांकनपछि नेपाल प्रहरीले झापा–५ मा पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी) परिचालन गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए । हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टा, बिर्तामोड, दमक र जिल्ला प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी रहेको छ ।

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै झापा–५ अन्तर्गतका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकालाई समेत डीएसपी नेतृत्वमा विशेष सुरक्षा घेराभित्र राखिएको छ । डीआईजी घिमिरेका अनुसार झापा–५ मा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्