झापा, फागुन १५ । झापाका १७ जना उम्मेदवारहरुले अझै चुनाव केन्द्रित बैंक खाता खोलेका छैनन् ।

फागुन २१ गतेको निर्वाचन आउनै लाग्दा झापाका ५ निर्वाचन क्षेत्रका ९० जना उम्मेदवारमध्ये हालसम्म ७३ जनाले मात्र चुनाव केन्द्रित बैंक खाता खोलेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि १७ जना उम्मेदवारले अझै बैंक खाता नखोलेका हुन् ।
दिनका दिन ताकेता गरिरहेपनि आजसम्म ७३ जनाले मात्र बैंक खाता खोलेको झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । उनले ठूला दलका उम्मेदवारहरुले बैंक खाता खोलिसकेको बताउँदै साना दल र स्वतन्त्र उम्मेदवारहरुले खोल्न बाँकी रहेको जानकारी दिए ।
बैंक खाता खोल्न अटेर गर्नेहरुमा झापा क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराई,नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवा ,उज्यालो नेपाल पार्टीका नरेशकुमार लावती ,स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेल , झापा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टीकी चन्द्रकुमारी गारु,नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामी मगर , झापा क्षेत्र नं ३ मा नेपाल मजदुर किसान पार्टीकी धर्म लक्ष्मी दुवाल (लघु) , झापा क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी तुल्सी लक्ष्मी दुमरु (बाटी) ,नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)का टेकबहादुर अधिकारी,स्वतन्त्र उम्मेदवार साजन माझी ,श्रम संस्कृति पार्टीकी अमृतादेवी राई , झापा क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारहरु डम्वर शाहु ,खेमनाथ शिवाकोटी ,शोभा भण्डारी ,प्रकाश नेपाल ,विपुल गुरागाई र पुस्कर खतिवडा रहेका छन् ।
निर्वाचन आयोगले चुनाव केन्द्रित आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई भनेको छ । निर्वाचन आचारसंहितामा नै यस्तो प्रावधान छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ११ दलले मात्रै चुनाव केन्द्रित खाता खोलेका छ्न् ।
नखोल्नेलाई के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने, ‘खाता खोल्ने क्रम जारी छ । कसैले साँच्चै खर्च नगर्नेको हकमा केही भएन । अन्यथा बाहिरबाट खर्च गरेको पाइए निर्वाचन आयोगले आवश्यक निर्णय लिन्छ । ‘
अर्थात खाता नखोली खर्च गर्नेलाई कारबाही हुने भट्टराईको चेतावनी छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ११ दलले मात्रै चुनाव केन्द्रित बैंक खाता खोलेका छन् । बाँकी ५६ दलले छुट्टै बैंक खाता खोलेका छैनन् ।



