झापा, फागुन १७ । फागुन २१ को निर्वाचनको मुखमा उत्साहजनक चुनावी माहोल बनेको देखेर राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको पाँचवटै क्षेत्र जित्ने दावी गरेको छ ।

झापाको क्षेत्र नं २ र ५ लाई यसअघि नै उच्च जित सुनिश्चितको क्षेत्र घोषणा गरेको रास्वपाले जिल्लाका अन्य तीन क्षेत्र नं १ , ३ र ४ मा समेत निर्वाचन जित्ने दावी गरेको हो । रास्वपाले जिल्लाको पाँचवटा क्षेत्रलाई विभिन्न भागमा राखेर विश्लेषण गरेको छ । क्षेत्र नं ५ र २ लाई उच्च जित सुनिश्चित क्षेत्र घोषणासंगै १,३ र ४ लाई समेत जित सुनिश्चितसहित ग्रीनजोनको रुपमा विश्लेषण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचन जिल्ला सचिवालय सदस्य तथा मिडिया संयोजक राजेन्द्र खनालले बताए । यसअघि झापाको पाँचवटै क्षेत्रमा अरु पार्टीसंग ‘विन–विन’को अबस्था रहेकोमा बालेन शाह पार्टीमा आवद्ध भएपछि पछिल्लो समय घण्टीको लहर नै चलेको उनले जानकारी दिए । पछिल्लो समय घरघरबाट परिवर्तनको पक्षमा उत्साहजनक रुपमा घण्टीमा मतदान गर्न मतदाताहरु तम्तयार रहेको उनको भनाई छ ।

पार्टीका वरिष्ठ नेता बालेन शाहले आज झापाका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावकेन्द्रित रोड–शो गरेका छन् । बालेनलाई समर्थन गर्न सडकको चोकचोक र बजारमा देखिएको जनलहरले रास्वपाको गतिलाई अब अरु पार्टीले रोक्न नसक्ने बिश्लेषण गरिएको हो । झापा–५ मा उम्मेदवारसमेत रहेका बालेनले काठमाडौंबाट रोडशो गरेर फर्किएपछि आज बिहानदेखि झापामा पनि रोड–शो सुरु गरेका थिए । चन्द्रगढी विमानस्थलमा ओर्लिएका बालेन झापा–१ को धुलाबारी हुँदै बाहुनडाँगी, झापा–२ को शनिश्चरे–बिर्तामोड हुँदै झापा–३ को राजगढ–कचनकवल घुमेर हुलाकी राजमार्गबाट झापा–४ को कुमरखोद बजार हुँदै सुरुङ्गा निस्किएर पूर्व पश्चिम राजमार्गबाट झापा–५ को दमक पुगेका छन् ।

बालेनको स्वागतका लागि रोड–शोमा रास्वपा कार्यकर्ता र समर्थकको निकै भीड लागेको थियो । आफ्‌नो निर्वाचन क्षेत्रमा माहोल बनाएका बालेनले रोड–शो गरेर आफ्‌ना पार्टीका अन्य उम्मेदवारको लागि पनि माहोल बनाइदिएका हुन् । बालेनले झापाली जनताको व्यापक समर्थन पाएका छन् । बालेनको आगमनले क्षेत्र नं– ५ संगै अन्य क्षेत्रको चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बनेको छ ।

उनलाई ल्याउन झापाका अन्य उम्मेदवारहरुले पहल गरेका थिए । एक साताअघि पार्टी सभापति रवि लामिछानेले पनि झापामा रोड–शो गरेका थिए ।रास्वपाको तर्फबाट झापा–१ मा निवर्तमान सांसद निशा डाँगी, झापा–२ मा पूर्वउपसभामुख इन्दिरा रानामगर, झापा–३ मा पार्टीका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठक, झापा–४ मा पार्टीका जिल्ला सचिव शम्भु ढकाल (सुस्केरा) र झापा–५ मा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्