विर्तामोड ,फागुन १७ । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाईले सुझबुझका साथ नेपाली कांग्रेसलाई मत दिन आम मतदातामा अपिल गरेकी छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी प्रसाईले यस्तो अपिल गरेकी हुन् ।
पुराना राजनीतिक दललाई गाली गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोज्ने शक्तिहरुतर्फ संकेत गर्दै उनले राजनीतिक योगदान, नीति, सिद्धान्त, विचार र देश बनाउने खाका प्रस्तुत गरेर विचारको राजनीति गर्न सुझाव दिइन् । जेन–जी विद्रोहको पृष्ठभूमि, जेन–जी पुस्तालाई बद्नाम बनाउन आन्दोलनमा भएको घुसपैठ र त्यसयता देखिएका राजनीतिक संकेतले नेपाल भू–राजनीतिक संकटमा फस्ने जोखिम रहेकोतर्फ सचेत रहन आग्रह गर्दै नेतृ प्रसाईले विगतदेखि वर्तमानसम्म देशलाई संकट परेको बेलामा समाधान गर्नसक्ने मध्यमार्गी पार्टी नेपाली कांग्रेसमात्रै रहेकोले फागुन २१ गते हुने निर्वाचनबाट कांग्रेसलाई ठूलो शक्ति बनाउन आह्वान गरिन् ।
‘भाषण र गाली त सबैलाई आउँछ’–उनले भनिन्–‘बोल्न पाउने, विचार, नीति र सिद्धान्त राख्न पाउने ब्यवस्थाका लागि कांग्रेसले ९ दशकदेखि संघर्ष गरेको सम्झनुस् ।’ मुलुकको समृद्धिका लागि स्वास्थ्य, सञ्चार, शिक्षा, अर्थ नीति कस्तो बनाउने भन्ने बहस गर्न आग्रह गर्दै उनले कांग्रेसले यस विषयमा स्पष्ट नीति अघि सारेको बताइन् । पार्टी बदलेर देश बदल्ने यात्रामा नयाँ नेतृत्व, नीति र विचार लिएर आएको कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै उनले जेनजी विद्रोहको भावना बमोजिम सुशासन कायम गर्ने प्रतिबद्धता पनि जनाइन् ।
निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, समानुपातिक उम्मेद्वारहरु सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, मनुमाया विश्वकर्मासहित विभिन्न तहका कार्यकर्ता एवं शुभचिन्तकहरुको उल्लेख्य सहभागिता थियो ।



