एजेन्सी ।इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १–१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।

त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
घटनामा १ नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए । ’यसबारे हामीलाई विस्तृत जानकारी दिइएको छैन,’ उनले भने । यूएई सरकारबाट मृत्यु भएकाहरूको परिचय प्राप्त भइनसकेको राजदूत क्षेत्रीले बताए ।
यूएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो । तीमध्ये १५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको पनि रक्षा मन्त्रालयको भनाइ छ ।
त्यस्तै दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ ।
त्यस्तै कुवेतको स्वास्थ्य मन्त्रालयले एक जना आप्रवासी श्रमिकको मृत्यु भएको जनाएको छ भने ३२ जना घाइते भएका छन् । इरानी मिसाइलको आक्रमणबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने र घाइते भएका आप्रवासी श्रमिकको पहिचान सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल सनादका अनुसार आदान अस्पतालको आकस्मिक कक्षमा ३२ जना घाइते ल्याइएका थिए । तीमध्ये १५ जनालाई थप उपचारका लागि जवर हस्पतालमा पठाइएको छ । पाँच जनालाई अदन अस्पतालमै शल्यक्रियाका लागि भर्ना गरिएको छ । उपचारकै क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
घाइते सबै विदेशी श्रमिक रहेका छन् । उनीहरूलाई टाउको र छातीमा चोट लागेको छ ।



