बिर्तामोड , फागुन १९ । सुर सम्राट भजन शिरोमणि भक्तराज आचार्यको दोस्रो स्मृति दिवस सरगम सङ्गीतालय बिर्तामोडमा मनाइएको छ ।


कोपिला रायमाझीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशङ्कर थापा तथा विशिष्ट अतिथिहरुमा देवीभक्त श्रेष्ठ, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई रहेका थिए । त्यस्तै अतिथिहरूमा कुमार श्रेष्ठ,शेखर पौडेल सङ्गीतालयका अभिभावकहरू रहेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैमा सङ्गीतालयका संस्थापक एवं सञ्चालक दिपक रायमाझीले स्वागत गरेका थिए । सोही कार्यक्रमको अवसर पारेर संस्थाका अभिभावक लीलानाथ खतिवडा खत्री र गोमादेवी उप्रेतीको ४८ औँ विवाह वर्षगाँठको अवसरमा उनीहरूलाई बधाई एवम् सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै पियानो, गीतार र किबोर्ड बाधक एवम् प्रशिक्षक तथा भोकलका प्रशिक्षक भिम केरुङलाई यही अवसरमा संस्थाले सम्मानपत्रसहित सम्मान गरेको थियो ।

भक्तराजप्रतिको श्रद्धाञ्जली एवम् कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शिवशङ्कर थापा र विशिष्ट अतिथिे देवीभक्त श्रेष्ठले नानीहरूको प्रस्तुतिको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’ आरोह रायमाझी, ‘हजार सपनाहरूको माया लागेर आउँछ’ सौगात लिम्बू, ‘म कहीँ कतै हराएँ भने’ रबिना आङदम्बे , ‘यति सम्म प्रीत गरी’ एलिना राई , ‘यहाँ जिन्दगीले’ अस्विन भारती ,‘एकदिन मैले प्रभुसँग सोधेँ’ सुमी लिम्बू,‘प्रिय तिम्रो मुहारमा हाँसो मैले’ ज्योति लामिछाने , ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ कुशल बस्नेत, ‘न धन त्यागेर त्यागी हुन्छ’ दर्शन बिष्ट, ‘सबै बेहोसी नशा पिएर’ सन्दीप गुरुङ , ‘तन मन वचनले’ आरभ अधिकारी,‘माया मेरी साझ बनी’ प्रज्ञान उप्रेती र रत्नश्री मिश्र,‘मेरो साधनाको वरदान हो गीत’ प्रसुन गुरागाईँ, ‘अपराध गरिनँ मैले’ अनुज भारती ,‘मुटु जलिरहेछ’ रिग्नेस सापकोटा, ‘कति लिन्छौ परीक्षा’ आकृति बिष्टलगायतले उत्कृष्ट गीत र भजन गाएर सङ्गीतालयका प्रशिक्षार्थी भाइबहिनीहरूले भक्तराजप्रति श्रद्धा चढाएका थिए ।

वाद्यबादनको भूमिका निर्वाह गर्दै तवलामा दिनेश घिमिरे, गीतारमा शाश्वत खत्री,किबोर्डमा भिम केरुङ र हार्मोनियम दिपक रायमाझी साथ दिएका थिए ।कार्यक्रम लीलानाथ खतिवडा खत्रीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्