निर्वाचन विथोल्न खोज्नेलाई कार्वाही

झापा, फागुन १९ । देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ बनेको झापा ५ को चुनावी सुरक्षाको लागि नेपाली सेना आक्रामक भएर लागेको छ ।

झापा ५ मा गस्ती गर्दै सेना

एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य चुनावी प्रतिष्पर्धाका कारण त्यस क्षेत्रमा सुरक्षा संवेदनशीलता देखिएपछि अन्य सुरक्षा निकायसंग समन्वय गरेर सेनाले चनाखो भएर सैनिक कार्वाही गर्दै आएको हो ।

दमक ८ को सभागृहमा कम्पनी अपरेटिङ बेस( सीओबी ) खडा गरेर सेनाले गत माघ २१ गतेदेखि नै झापा ५ मा निर्वाचन सुरक्षा गर्दै आएको छ । अरिदमन गण चारआलीका सेनानी सुरेन्द्र योगीले त्यस सीओबीको कमाण्ड सम्हालेका छन् । त्यसअन्तर्गत चारवटा सेमु अर्थात प्लाटुन अपरेटिङ बेस (पीओबी) रहेका छन् । दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा पीओबी राखिएका हुन् । हाल सीओबीमा क्षेत्र नम्बर ५ को सुरक्षाको लागि २५० जना भन्दा बढी सेनाको फौज खटिएका छन् भने प्रत्येक पीओबीमा लप्टनको कमाण्डमा ३५ जनाको दरले फौज रहेका छन् ।

दमक ४ मा रहेको पीओबीले दमक नगरपालिकाको १ देखि १० नं वडासम्मको सुरक्षा गरिरहेको छ भने गौरादह ५ मा रहेको पीओबीले गौरादह वडा नं १ देखि ७ सम्म , कमल ३ तोपगाछीमा रहेको पीओबीले कमल वडा नं १ देखि ७ सम्म र गौरीगञ्ज ४ गौरीगञ्ज बजारमा रहेको पीओबीले गौरादह ८ तथा गौरीगञ्ज ३,४, ५ र ६ नं वडाको सुरक्षा हेर्दै आएको छ ।

विद्यार्थीहरुका लागि माइन रिक्स एजुकेशन

सीओबीसहित चारवटै पीओबीमा बम डिस्पोजल टोली तैनाथ राखिएको छ । उनीहरु जुनसुकै बेला खटिनका लागि तयारी अबस्थामा छन् । त्यस्तै निर्वाचनका बेलामा सेनाले त्यस क्षेत्रका विद्यालयका विद्यार्थीहरुका लागि माइन रिक्स एजुकेशन कक्षा संचालन गरेको छ । विष्फोटक पदार्थहरु बेवारिसे अबस्थामा भेटिए कसरी सुरक्षित रहने र तत्काल सुरक्षा निकायलाई खबर गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको एक सुरक्षा अधिकारीले बताए ।

सेनाको बख्तरबन्ध गाडी

झापा ५ मा सेनाले चारवटा बख्तरबन्ध गाडी ल्याएको छ । जसमा बिशेष फौजको टोली परिचालन भइरहेको छ । एक महिना अगाडिदेखि नै विभिन्न पेट्रोलिङहरु भेइकल पेट्रोलिङ, मेकानाइज्ड भेइकल पेट्रोलिङ,डे–नाइट पेट्रोलिङ, फ्‌ल्याग मार्चजस्ता सैनिक कार्वाहीहरु गर्दै आएको ती सैनिक अधिकारीले जानकारी दिए ।

हवाई गस्ती

हेलिप्याड निर्माण गरी हवाई गस्ती
दमक ८ को सभागृहमा रहेको सीओबीले हेलिप्याड निर्माण गरेको छ । करिव १५ कठ्ठामा सो हेलिप्याड निर्माण गरिएको हो । स्थानीय तहसंग समन्वय गरेर सेनाले हेलिप्याड बनाएको जनाएको छ । हेलिप्याड प्रयोग गरी सेनाले झापा ५ मा पर्ने क्षेत्रमा हवाई रेकी तथा गस्ती गरिरहेको छ । आज दिउँसो नेपाली सेनाको एएलएच नामको हेलिकप्टर दमक स्थित सेनाको निर्वाचन सुरक्षा बेसमा रहेको सो हेलिप्याडमा आएको छ । उक्त हेलिबाट पर्सी हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनको सुरक्षार्थ सेनाको स्पेशल फोर्सले दमक बजार र क्षेत्र नम्बर ५ मा पर्ने एरियामा हवाई रेकी तथा गस्ती गरिरहेको छ ।

हेलिप्याड

हेलिप्याड व्यवस्थापन गर्न दमक वडा नं ९ का वडाध्यक्ष कुवेर भट्टराईले सहयोग गरेका थिए । झापामा सेनाको चारवटा सीओबी र १६ वटा पीओबी परिचालन गरिएको छ । अन्य सीओबीहरुले चारआली व्यारेकको हेलिप्याड प्रयोग गरेका छन् ।

दमकको व्यवस्थित सीओबीमा विभिन्न समयमा उच्च पदस्थ सैनिक अधिकारीहरुले निरीक्षण भ्रमण गरेका छन् । पूर्वी पृतनाका पृतनापति, २१ नं बाहिनी अड्डाका बाहिनीपति ,सैनिक हेडक्वार्टरका उपरथी , जिल्ला सुरक्षा समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीलगायतले सीओबीको निरीक्षण गरेका हुन् ।

सीओबीको निरीक्षण

निर्वाचन विथोल्नेप्रति आक्रामक
हरेक मतदान स्थलमा अन्य सुरक्षा निकायसंग समन्वयमा तेस्रो घेरामा रहेर सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । मतदान केन्द्रभित्र सेनाले प्रवेश गर्दैन । त्यस्तै मतपेटिका ढुवानीका बेला सेनाले सुरक्षा दिने भएको छ । मतदान केन्द्रभित्रै प्रवेश गर्ने र मतपेटिका आफै ढुवानी गरेर लैजाने कार्य सेनाले नगर्ने ती अधिकारीले बताए ।‘निर्वाचनमा सेनाले कुनै पनि हस्तक्षेप गर्दैन र गर्न पनि दिदैन’ उनले भने , ‘ मतदान केन्द्रहरुबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्दा हामी मतपेटिका छुदैनौं , स्कटिङ र पिकेटिङ मात्र गर्छौ ।’

झापा ५ को ६१ वटा मतदानस्थलको मतपेटिका गणनाका लागि निर्वाचन अधिकृतको कार्यालय रहेको दमकको अर्ग्यानिक कृषि भवनमा लगिने भएको छ । मतगणनाका लागि मतगणनास्थलको तयारी भइरहेको छ । मतदानको समयमा बाहिरी घेरामा रहेर चौबीसै घण्टा सुरक्षा दिने सेनाले अन्तिम मत परिणाम नआइन्जेलसम्म पहरा दिने योजना बनाएको ती अधिकारीले बताए । निर्वाचन विथोल्न खोज्ने वा मतदानका दिन कुनै पनि हस्तक्षेप गर्न खोज्नेलाई सुरक्षा कार्यविधि अनुसार एक इन्च तलमाथि नगरी आक्रामक रुपमा कार्वाही गरिने उनले बताए । निर्वाचन सुरक्षाका लागि आदेश लिइसकेकाले सेना ‘पर्ख र हेर’ को अबस्थामा नवसी एक्सनमा जाने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्