मेचीनगर,फागुन २० । भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाको निर्वाचन क्षेत्र नम्बर १ का अधिकाँश उम्मेद्वारहरुले आ—आफ्‌नै वडामा रहेका मतदान स्थलबाट मतदान गर्नेछन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४५ वटा मतदान स्थल र एक सय ४५ वटा मतदान केन्द्र रहेका छन् ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बनेका रामचन्द्र उप्रेतीले मेचीनगर—६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने छन् ।

कांग्रेस उम्मेदवार केशवराज पाण्डेले मेचीनगर —७ मा रहेको अरनिको माध्यमिक विद्यालय सतिघट्टा मतदान स्थलबाट मतदान गर्ने उनका प्रतिनिधि अजय घिमिरेले जानकारी दिए । पाण्डे सोही वडाको इटाभट्टामा बस्दैं आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्कीले मेचीनगर—४ बाहुनडाँगीमा रहेको सरस्वती माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने उनका प्रतिनिधि विशालकृष्ण बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार कार्की सोही वडाका बासिन्दा हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार निशा डाँगीले आफ्‌नो मतदाता नामावली जहाँ छ त्यहीबाट मतदान गर्ने बताइन् । ‘मेरो मतदाता नामावली जहाँ छ त्यही मतदान स्थलबाट मतदान गर्छु ‘ डाँगीले भनिन्, ‘म विहान मतदान गर्दिनँ, पहिला मेरा सवै मतदाताहरुले मतदान गर्नेछन् म साँझपख गर्ने छु ।’

श्रम संस्कृति पार्टीका उम्मेद्वार केवलराम राईले पनि मेचीनगर —६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने बताए । उनी मेचीनगर—६ का स्थायी बासिन्दा हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अशेष घिमिरेले मेचीनगर—१० मा रहेको शिशु साक्षर प्राथमिक विद्यालयबाट मदतान गर्ने बताए । ‘मैले पहिलो पटक २०६४ साल चैत २८ गते पहिलो संविधान सभा निर्वाचनमा पहिलो पटक मतदान गरेको थिएँ त्यसपछि हरेक निर्वाचनमा यही मतदान स्थलबाट मतदान गर्नेछु ’ उनले भने ।

तर, उज्यालो नेपाल पार्टीका उम्मेद्वार नरेशकुमार लावती र स्वतन्त्र उम्मेद्वार गणेशकुमार खरेलले हाल बसोबास गरिरहेको वडाबाट मतदान गर्न नपाउने भएका छन् ।

मेचीनगर —३ मा बसोबास गरिरहेका लावतीले मेचीनगर —५ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय सुरेन्द्रनगरबाट मतदान गर्ने बताए ।स्वतन्त्र उम्मेद्वार गणेश खरेलले मेचीनगर—६ मा रहेको काँकरभिट्टा माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने बताए ।

मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) का उम्मेद्वार सन्तोष तामाङले मेचीनगर—२ को भानु माध्यमिक विद्यालय भृकुटी मतदान स्थलबाट मतदान गर्ने एमएनओका मेचीनगर अध्यक्ष सोमविर तामाङले बताए । उम्मेद्वार तामाङ सोही वडाका स्थायी बासिन्दा हुन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ मा हाल ६५ हजार ८ सय ५८ पुरुष र ६५ हजार २ सय ९ महिला गरेर एक लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् । २०७९ मा ६० हजार २ सय ३७ पुरुष र ६० हजार १ सय ३८ महिला गरी कुल एक लाख २० हजार ३ सय ७५ जना मतदाता थिए । भोलि हुन लागेको निर्वाचनमा १० हजार ६ सय ९२ जना नयाँ मतदाता थपिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्