झापा, फागुन २४ । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सभामुख देवराज घिमिरेलाई हराएकी छन् ।

२०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी मगर यस पटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै निवर्तमान सभामुख घिमिरेको राजनीतिक यात्रामा विराम लगाइदिएकी छन् ।

झापा–२ बाट निर्वाचित रानाले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरेकी हुन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् । तेस्रो भएका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २ सय ९१ मत पाए । ५ हजार ६ सय १६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् ।

अघिल्लो निर्वाचनमा दोस्रो भएका राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत)ले यस पटक पाँचौ स्थानमा चित्त बुझाउनु पर्‍यो । उनले मात्र ३ हजार ९ सय ६६ मत ल्याउन सके । अघिल्लो पटक उनले २६ हजार ४ सय ५५ मत पाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्