झापा, फागुन २४ । अघिल्लो निर्वाचनमा झापा ४ मा हार व्यहोरेका रास्वपाका शम्भुप्रसाद ढकाल यस पटक सांसद निर्वाचित भएका छन् ।

४३ हजार ६३१ मतसहित उनी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत पाएका छन् । चौथोमा रहेकी श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ र पाँचौ स्थानमा खुम्चिएका राप्रपाका भक्तिप्रसाद सिटौलाले २हजार ८० मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा रास्वपाका ढकालले १४ हजार ६९ मत प्राप्त गरी तेस्रो भएका थिए । त्यसबेला साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीसंग हार व्यहोरेका साँवाले त्यसयता लगातार दुईवटा संसदीय निर्वाचन जित्दै आएका थिए । उनी यसपटक ह्याट्रिक जित हासिल गर्ने दाउमा थिए । तर , ढकालको जितले ब्रेक लागेको छ ।

त्यस्तै कांग्रेसका थेबेले लगातार तेस्रो पटक हार व्यहोरेका हुन् । अघिल्ला दुई निर्वाचनमा साँवासंग हारेका थेबे यसपटक ढकालसंग पराजित भएका हुन् । उनी नेपाली कांग्रेस झापाका जिल्ला सभापति हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्