बिर्तामोड , बैशाख १ । जिल्ला प्रशासन कार्यालय झापाले सामुहिक रुपमा सिरुवा पर्व मनाउन रोक लगाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि जिल्ला प्रशासन कार्यालयले ठूलो संख्यामा भेला भएर सिरुवा मनाउन रोक लगाएको हो । कार्यालयले आज एक सूचना जारी गरी सिरुवा पर्वका अवसरमा विभिन्न स्थानमा मेला लगाउने, भोज भतेर गर्ने ,ठूलो संख्यामा भेला भई सिरुवा पर्व मनाउने जस्ता कार्यले कोरोना भाइरस फैलिन सक्ने भएकाले त्यस्ता कार्यमा रोक लगाइएको जनाएको छ । नयाँ वर्ष र सिरुवा पर्व आ—आफ्नै घरमा मनाउने ब्यबस्था मिलाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नं. १ विराटनगरले प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

नयाँ वर्षको बैशाख १, २ र ३ गते पूर्वका आदिवासीहरुले पानी, हिलो र रङ खेलेर यो पर्व मनाउने चलन छ । त्यस अवसरमा झापा र मोरङमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम गरिदै आएको छ । गत वर्ष झापा र मोरङका करिव २० ठाउँमा सिरुवा कार्यक्रम आयोजना गरिनुका साथै त्यहाँ सिरुवा मेला पनि लागेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्