कोरोनाबाट जोगिने हामीसँग पर्याप्त समय हुँदा हुँदै पनि हामीले उच्च सतर्कता नअपनाएको यथार्थ हो । कोरोना संक्रमण देखिएका मुलुकबाट स्वदेश फर्किएका नागरिकलाई त्यही समयमा क्वारेन्टाइन निर्माण गरेर निगरानीमा राख्न सकिएको थियो भने अहिलेको त्रासदीको सामना गर्नु पर्ने थिएन ।  भगवान भरोसामा परेकै कारण अहिलेको अवस्था आएको हो । पूर्ण तयारी र उच्च सतर्कता अपनाएर  संक्रमणबाट हामी जोगिएको हुँदै होइन ।भाग्यकै कारण नेपाली जोगिएको यथार्थ हो । भाग्यमा छ भनेर डोकामा दूध दुने धृष्टता गरिनु हुँदैन । समय छउञ्जेल हामीले त्यही गर्यौँ, जसको परिणाम हामी बेहोरी रहेका छौँ ।                  अहिले पनि सरकार झारा टार्ने प्रकृतिकै काममा अल्झेको छ । लकडाउनको घोषणा गर्ने बाहेक उपलब्धिपूर्ण काम खासै भएको छैन । सुरक्षाकर्मीले चित्त नबुझाएरै पनि सडक थामिदिएको अवस्था छ । उनीहरु पनि उच्च जोखिमसँग पौँठेजोरी खेलेरै पनि अनियन्त्रित आवागमन रोकिरहेका छन् । भरपर्दो उपकरणको  र  प्रयाप्त सुरक्षा सामग्रीको अभावकै बीच स्वास्थ्यकर्मीहरु खटिरगेका छन् । यो अवस्था विद्यमान रहेसम्म कोरोनाको कहर कम हुँदैन । तर, सरकार भयाङ्कर काम गरेको स्वमुल्याङ्कनमा नै रमाइरहेको अवस्था छ ।      सरकारले केही नै गरेको छैन भनेर भन्न मिल्दैन, हुँदैन । तर, आत्मरतिमा रमाउने सरकारको मनोविज्ञान निक्कै खतरा छ । कोरोना संक्रमणबाट जोगिन आवश्यक पर्ने सामग्री खरिदमा गरिएको घोटालाले नै सरकारको बदनियत छर्लङ्ग पारेकै हो । विमान चार्टर गर्दा खाएको कमिसनको विषय त सुन्दा पनि सरम लाग्छ । तर, सरकारका मन्त्री र मातहतका कर्मचारीको गति र लय अहिले पनि कमाउ धन्दा तर्फ नैन्मुख छ । जो चाहिँ आकाश तिर फर्किएर थुक्दा आउने परिणाम जस्तै हो । यस्तोमा थप अपेक्षा व्यर्थ हुन्छ ।                       संकास्पद व्यक्तिको स्वास्थ्य परीक्षणको गति अहिले पनि धिमा छ । यही तालमा गरिने स्वास्थ्य परीक्षणले संकास्पद व्यक्तिलाई जाँच गर्न लामो समय लाग्छ । सबैको स्वास्थ्य परीक्षण गर्ने कुरा त गर्नै हुँदैन ।  त्यो गरियो भने जघन्य भुल नै हो । यद्यपि, सरकारलाई अपवाद बाहेक सबै क्षेत्र, तह र तप्काबाट अनपेक्षित साथ सहयोग प्राप्त भइरहेको छ । यो चाहिँ सरकारका लागि सौभाग्य नै हो । त्यसकारण सरकारले आफ्नो लय परिवर्तन गर्नै पर्छ । त्यसले मात्रै अधिक नागरिकलाई त्रासदी र कोरोनाबाट दुर राख्न सम्भव हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्