इन्द्रसिंह राजवंशी ,

बिर्तामोड , बैशाख ४ । कोरोना भाइरसको महामारीका कारण देश अहिले लकडाउनमा छ । सवारी आवागमन प्रायः ठप्प छ । तर, पनि झापामा सवारी दुर्घटनामा खासै कमी आएको छैन ।

कोरोेना महामारी फैलिएपछि नेपालमा चैत ११ गतदेखि लकडाउन घोषणा गरिएको हो । अधिकांश दिन लकडाउनमा बितेको चैत महिनामा जिल्लाभरि १६ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ । जिल्लामा सरदर महिनामा २०—२२ वटा दुर्घटना हुने गरेको छ । त्यसैगरी सवारी दुर्घटनामै परी महिनामा सरदर १० जनाले ज्यान गुमाउने गरेका छन् । लकडाउन शुरु भएको गत चैत महिनामा ५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । लकडाउनयता एक जनाको मृत्यु भएको हो भने चारजनाको त्यसअघि ज्यान गएको थियो ।

लकडाउनका कारण सडकमा अलपत्र परेका भारतीहरुले गर्दा दुर्घटना बढेको प्रहरी निरीक्षक जवेगुले बताए । उनले राजमार्गको खुल्ला बाटो र भित्री सडकहरुमा प्रहरीको आँखा छलेर लुकिछिपी चलाउने मोटरसाइकल र स्कुटरले पनि दुर्घटना निम्त्याउने गरेको जानकारी दिए । पूर्वी नेपालमा टाइम कार्ड लागू भएदेखि सवारी दुर्घटनामा केही कमी आएको छ । टाइम कार्ड लागू भएयता दुर्घटनाको संख्या घटेको प्रहरी निरीक्षक जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्