झापा, ४ वैशाख । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि थप कडाई गर्ने भएको छ । बुधबार बसेको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो । समितिकै बैठकले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा पुर्याउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ ।सवारीसाधन सञ्चालन पास पनि थप कडाइ गरिने भएको छ ।

लकडाउनका वेला अत्यावश्यक कामका लागि भनेर लिइएको सवारी पास दुरुपयोग गर्ने १ हजार ८ सय ४६ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही समेत गरिसकेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १२ थपेर १५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि बुधबार सकिने थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर बैशाख १५ गतेसम्म लकडाउन बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्