पृथ्वीनगर , बैशाख ४ । राहत संकलन र वितरणमा तछाडमछाड चलिरहेका बेला झापाका एक वडाध्यक्ष वडाको वास्तविक अवस्था हेरेर मात्रै राहत गर्ने योजनामा छन् । पहिलो चरणको राहत वितरण गरिसकेपछि उनी तत्कालै राहत नबाँड्ने निश्कर्षमा पुगेका हुन् ।

झापाको पुरानो नगरपालिका भद्रपुर —२ का वडाध्यक्ष भीमबहादुर लिम्बूले राहत वितरणमा हतारो गर्न नहुने बताए । उनले अहिले पनि वडासँग ११ क्वीन्टल चामल,२३ हजार नगद मौज्दात रहेको बताए । चामल निर्माण व्यवसायीहरु र नगद सोही वडाका सहकारी संस्थाले उपलब्ध गराएको बताए । “ निरन्तर राहत संकलन भइरहेको छ, कोरोनाको त्रासको यो बेला पनि स्वतस्स्फुर्त सकेको सहयोग जुट्नु वडाबासीको उदारता हो“ लिम्बूले भने,“ नगर,प्रदेश र संघीय सरकारबाट पनि अवस्य राहत आउँछ, अनि वितरण गर्ने योजना छ ।“ यो भन्दा विषम परिस्थिति आउने सम्भावनालाई दृष्टिगत गरेर आफू राहत वितरणमा अहतारिएको उनले जानकारी दिए । उनले पछिल्लोपटक भद्रपुर —२ को मेलमिलाप साकोस र किचकवध सहकारीले सात — सात हजार रुपैयाँ नगद उपलब्ध गराएको बताए । मेलमिलापका उपाध्यक्ष नारायण दाहाल, व्यवस्थापक नरेन्द्र चौलागाईं र ऋण संयोजक मनप्रसाद कोइरालाले कार्यालयमा नै आएर रकम हस्तान्तरण गरेको जनाइएको छ ।

यसअघि जीवन विकास सहकारीले वडा कार्यालयको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै लक्षित वर्गलाई जिन्सी सामग्री उपलब्ध गराएको वडाध्यक्ष लिम्बूले बताए । संकलन भएको राहत स्थानीय राजनीतिक दल,टोल विकास समिति, वडा कार्यालय लगायतको सर्वपक्षीय सहमतिमा एकमुष्ट रुपमा वितरण गर्ने योजना रहेको उनले बताए । एक हजार ८७७ घरपरिवार रहेको सो वडामा राहत दिनै पर्नेको पहिचान र निक्र्यौल गरेर मात्रै वितरण गरिने वडाध्यक्ष लिम्बूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्