भद्रपुर, ६ बैशाख । जनउत्तरदायी स्थानीय सरकार अभियानअन्तर्गत भद्रपुर— ९ र १० नम्वर वडा कार्यालयले अतिविपन्न वर्गका लागि पहिलो चरणमा ११ सय घरधुरीलाई खाद्यान्न राहतस्वरूप वितरण गरेका छन् ।

देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले वडाभित्र खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन नगर सरकारको विपद् व्यवस्थापन कोष तथा स्थानीय संघसंस्था र दातासित सहकार्य गरी वडा नम्वर ९ ले ५ सय ५ परिवार र वडा नम्वर १० ले ५ सय ६३ अति विपन्न परिवारलाई दाल, चामल, नुन , तेल , साबुनलगायत आधारभूत आवश्यकीय सामग्री सहयोगस्वरूप वितरण गरेका हुन् । दुवै वडा साविकको चन्द्रगढी गाविसका अधिकांस वडा समेटिएका तथा दैनिक ज्यालादारी, सुकुम्बासी तथा विपन्नहरूको बाक्लो बस्ती भएका वडा हुन् । पहिलो चरणमा अतिविपन्न गाँस बस्ने अवस्थाका परिवारलाई टोल विकास संस्थामार्फत पहिचान गरी कम्तीमा १० दिनदेखि १५ दिन खान पुग्ने गरी खाद्य सामग्री प्रदान गरिएको वडा कार्यालयहरूले जानकारी दिएका छन् ।
भद्रपुर— ९ का कार्यवाहक वडाध्यक्ष राम दाहालका अनुसार नगर सरकारको विपत कोषबाट १ लाख ६७ हजार, वडा विपद् कोषबाट ४० हजार, वडाभित्र रहेका विभिन्न सहकारी, वन समिति, उद्योग, व्यवसाय, सामाजिक संघसंस्थाबाट प्राप्त रकम गरी जम्मा ३ लाख ३९ हजार वरावरको खाद्यान्न वितरण गरिएको हो । वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनका अनुसार आवश्यकताका आधारमा स्थलगत पहिचानपश्चात ्अतिविपन्न वर्गका लागि मात्र राहत सामग्री वितरण गरिएको हो ।यस्तै भद्रपुर— १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीका अनुसार नगरपालिकाबाट १ लाख ४८ हजार तथा विभिन्न संघसंस्था, दाता लगायतबाट जुटेको सहयोग २ लाख ३५ हजार १३० रूपैयाँ समेत गरी ३ लाख ८३ हजार १३० रूपैयाँको खाद्य सामग्री राहत स्वरूप वितरण गरिएको छ ।पहिलो चरणमा १० देखि १५ दिन पुग्ने गरी अतिविपन्नका लागि टोल विकास संस्थामार्फत खाद्यान्न राहतस्वरूप बाँडिएको वडा सचिव मनकुमार डाँगीले जानकारी दिए । विभेदरहित पारदर्शी विधिमार्फत् राहत संकलन र वितरण भएको समेत सचिव डाँगीको भनाइ छ ।

पहिलो चरणमा भद्रपुर नगरपालिकाको समग्र वडा क्षेत्रमा ४२३९ घर परिवारलाई राहत बाँडिएको नगर प्रशासनले जनाएको छ ।लगकडाउन कहिलेसम्म लम्बिने हो ? निश्चित नभएकाले दैनिक ज्यालादारीमा जीविका चलाउने सुकुम्बासी तथा सर्वहारा श्रमजीविको अवस्था दयनीय बन्दै गएपछि केही दिनका लागि स्थानीय सरकारले चुल्हो बाल्ने वातावरण बनाइ दिएपनि आगामी दिन झन् कष्टकर बन्ने देखिएको छ । कसलाई कति सहयोग जुटाउने ? भन्ने अन्यौलता थपिदै गएपछि स्थानीय सरकार एक्लैको पहलले मात्र भोकमरी थाम्न नसक्ने अवस्था आएको हो । अब भोकमरी रोक्न टोल छिमेकी नै अगाडि बढ्नु पर्ने अवस्था आएको जनप्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्