झापा, ६ बैशाख । झापा जिल्लामा पहिलो चरणमा अतिविपन्न आर्थिक अवस्था भएका ३९ हजार ३६१ घरघुरीका लागि एक लाख ६० हजार ४१३ व्यक्तिलाई लक्षित गरेर राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ ।

प्रतिपरिवार ७ देखि १२ दिन खान पुग्नेगरी सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन राहतस्वरूप वितरण गरिएको हो ।
यसैगरी झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसताक्षी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका अतिविपन्न परिवारलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, चार हजार लिटर तेल र चार हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताए । उनका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताइन् । दाताहरूबाट समेत सहयोग आइरहेको उनको भनाइ छ ।कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । मेची नगरपालिकाले पनि दोस्रो चरणको राहत वितरणका लागि तयारी सुरू गरेको छ । नगरमा विभिन्न सामाजिक संस्थाहरुले संकलन गरेका राहत सामग्री नगरपालिकालाई बुझाएका छन् । अन्य स्थानीय तहमा पनि आवश्यकता अनुसार दोश्रो चरणको राहत सामग्री वितरणका लागि तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्