राजेन्द्र गौतम ( झापा ) । सहरीसँगै झापाका ग्रामीण क्षेत्रमा निर्बाद हिड्डुलमा प्रहरीले कडाइ गर्दै लगेको छ । लकडाउन उल्लंघन गर्नेलाई भौतिक दुरी कायम गरी बनाइको सेतो गोलो घेरामा निश्चिति समय उभ्याउने र जताबाट आयो त्यतै फर्काउने लगायतका काम गरेर प्रहरीले हिड्डुलमा कडाइ गरेको हो । झापाको मध्य दक्षिणी क्षेत्रमा त्यस्तो कार्यका लागि ईलाका प्रहरी कार्यलय झिलझिले लगायतको प्रहरी परिचालित भएको छ । लकडाउन सुरु भएको २६ औँ दिनमा पहिलो पटक गौरादह नगरपालिका –९ को बैगुनधुरा बजार क्षेत्रमा समेत लक डाउन उल्लंघन गर्नेहरुलाई गोलो घेराभित्र उभ्याएर सचेत गराइएको जनाइएको छ । इप्रका झिलझिलेका प्रहरी निरीक्षक कोमक ठाकुरका अनुसार शिवसताक्षी नगरपालिकाको दुधे बजार, विभिन्न चोक तथा पूर्वपश्चिम राजमार्गमा पर्ने बजार क्षेत्रमा त्यस्तो कार्यलाई निरन्तरता दिइएको हो ।
झिलझिले प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका स्थानीय युनिट,सताक्षीधाम सामुदायिक केन्द्र लगायत संघसंस्थाको संयुक्त प्रयासमा लकडाउन उल्लंघन गर्ने ३५ जनालाई २ घण्टा उभ्याएर कारबाही गरिएको हो । प्रहरीले ५ फिट अन्तर कायम गरी बनाएको सामाजिक दुरीको गोलो घेरामा उभ्याएर कोरोना भाइरसको कारण विश्वमा भएको क्षतिको बारेमा जानकारी गराउने गरेको छ । झिलझिले प्रहरीले हालसम्म १३ महिलासहित १४६ जनालाई त्यस्तो कारबाही गरिसकेको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए ।
बैगुनधुरामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले ग्वालमुनी, तुलाचन लगायत आफ्नो कार्यक्षेत्रमा कडाइ गरेको छ । सशस्त्र प्रहरीले निगरानी बढाए पछि एक गाउँबाट अर्को गाउँ जाने र बेकाममा लखरलखर घुम्नेको संख्यामा कमीआएको स्थानीय किरण बाह्रकोटीले बताए । बिना काम हिड्ने, बाहिरबाट आएका व्यक्ति र लकडाउन उलंघन गर्नेको सम्झाउने र अटेरी गरे कारबाही गर्ने गरिएको कुञ्जीबारी प्रहरी चौकीका असइ दिपक कडेलले बताए । उनले हालसम्म लकडाउन उल्लङ्घन गर्नेलाई सयौँ जनालाई गोलोघेरामा उभ्याएर कारबाही गरिसकेको बताए ।
तल्लो दर्जाका प्रहरीले भने अपशब्द बोल्ने, गाली गर्ने र बल प्रयोगमा उत्रने गरेको स्थानीय एक युवा कालू मुर्मुले दुखेसो गरे । उनले भने, “राई थरका एक प्रहरी दाईले हेप्ने गर्नु भएको छ, उहाँले सबैलाई त भनेर हप्काउनु हुन्छ ।” बोर्डर अप्रेसन पोस्ट कुञ्जीबारीका सशस्त्र प्रहरी निरीक्षक अगम राईले सीमा जोडिएका डाकुपाडा, पाल्सा, गौरीगञ्ज गाउँपालिका –२ को विरपुर, टटुवामारी, बघाहचौधरी लगायतका क्षेत्रमा नियमित गस्ती गरिएको र जबर्जस्त गर्नेलाई भारत तर्फ फर्काइएको र २० जना भन्दा बढी नेपालीलाई गौरीगञ्जमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको बताए । गौरीगञ्ज, खजुरगाछी लगायतका क्षेत्रमा अझै पनि सुरक्षा अवस्था खकुलो रहेको भीम राजवंशी बताए । स्थानीय फत्तेपुर क्षेत्रबाट अहिले पनि मानिस नेपाल छिर्ने गरेको जानकारी दिए ।
तर, गौरीगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । ग्रामीण क्षेत्रका दर्जनौं चोक तथा सडकमा स्थानीयले लगाए ढाट अत्यावश्यक सवारीका साधन आवागमनमा असहज भएपछि प्रहरीले हटाइ दिएको छ । शिवसताक्षी नगरपालिका– ६ को हल्दार चोकमा लगाइएको ढाट नहटाइएको श्याम ताजपुरियाले बताए । उनले भने, “त्यहाँ स्थानीय युवा बसेर विशेष कामले हिडेकालाई समेत थर्काएर फर्काउने गरेका छन् ।” त्यहाँ ढाट लगाउदा शिवगञ्ज, झिलझिले, माइधार, दुधे र राजमार्गसम्म आउन र ती क्षेत्रबाट दक्षिणी भेग जान असहज भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्