झापा, बैशाख ८ । पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको छ ।

सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेका थिएर्। बैठकमा प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गर्नुभयो’ पूर्वमाओवादी समूहका एक मन्त्रीले भने ’उहाँले एकाएक किन यस्तो प्रस्ताव गर्नुभयो, हामी आश्चर्य पर्यौं ।’यसैबीच बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार गएका छन् । मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्री पुनले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी समूहको छुट्टै बैठक बस्ने तयारी रहेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका छाडेर टाढा नजान निर्देशन दिएका छन् । मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि प्रचण्डले पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुलाई केही दिनसम्म उपत्यका छाडेर बाहिर नजान र बाहिर भएकाहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन् । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय रहेको छ । ४५ सदस्यीय स्थायी कमिटीमा रहेको नेकपामा पूर्वमाओवादी समूहका अग्निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो । जसमा पूर्वमाओवादी प्रचण्ड समूहका १८ जना, ओली समूहका १२ जना, माधव नेपाल समूहको १३ (झलनाथ खनालसहित) र वामदेव गौतम गरी ४४ सदस्यीय रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्