झापा, बैशाख ८ । कोरोना संक्रमणबाट जोगिने दर्जनौं मध्येको एउटा उपाय हो भौतिक दुरी कायम गर्नु । विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेको सन्देशमा पनि भौतिक दुरी कायम गर्न निरन्तर सचेत गराइदै आएको छ । तर, मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी र जिम्मेवार तहबाट नै त्यसको उल्लंघन भएका दृश्यहरु बारम्बार देखिएकै छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि त्यस्तो दृश्य छ्याप्छ्याप्ती नदेखिएको होइन । कुनै बैठक बस्नु पर्याे, कहिँ जानु पर्याे, अरु त्यस्तै काम विशेषले भेला हुनु पर्याे भने भौतिक दुरी कायम गर्ने कुरा हामी भुसुक्कै बिर्सन्छौँ । मानौं, हामी कोरोनालाई जितिसक्यौँ जसरी नै बस्छौं । भरसक टाँसिएर बस्ने, लगाएको मास्क पनि चिउँडातिर सारेर नाकमुख खुल्लै राक्ने हामीलाई बानी नै परेको छ । अझ राहत बाँड्ने बहानामा गरिने हर्कतले त भौतिक दुरी कायम गर्ने कुरा बोलीमा मात्रै सीमित भएको छ । मन्त्रीस्तरीय बैठक र त्यही तहका भेलामा पनि भौतिक दुरीको ख्याल नै गरिन्न । यो निरन्तर देखिदै र स्वयम् गरिदै आएको दैनिकी नै हो । राजनीतिक दलका नेता, कार्यकर्ताको बैठक र भेलामा त भौतिक दुरीको कुरा हावादारी सावित भइसकेको छ । सर्वत्र यस्तो अवस्था विद्यमान रहेको बेला झापामा एउटा राजनीतिक दलका स्थानीय नेताले गज्जबको जुक्तिको अनुसरण गरेर भर्चुअल बैठक ( भिडियो कन्फ्रेन्स ) गरेका छन् ।

नेपाली काग्रेस शिवसताक्षी नगर समितिले भर्चुअल बैंकक मात्रै गरेन, १३ वटा निर्णय गरेर स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएको नगर सभापति पर्शुराम ढुंगानाले बताए । नगरमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको सो बैठकमा ४० जना सहभागी भएको उनले जानकारी दिए । बैठकले दैनिक ज्यालादारी गर्ने वर्गलाई आवश्यक राहत उपलब्ध गराउनु पर्ने, किसानलाई सुपथ मूल्यमा मलबीऊ वितरण गर्नु पर्ने, नगर क्षेत्रमा उपभोग्य बस्तुको मूल्यवृद्धि भएकाले नियमित अनुगमन निरीक्षण गरी कालोबजारी रोक्नु पर्ने,बालबालिकालाई लगाइदै आएको खोप कार्यक्रम सञ्चालन गर्नु पर्ने, जेष्ठ नागरिक, गर्भवती,सुत्केरी तथा एकल महिला, फरक क्षमता भएका नागरिकले पाउदै आएका सेवा,सुविधा र उपचारको व्यवस्था मिलाउनु पर्ने लगायतका निर्णय गरी नगर प्रमुख चन्द्रकुमार शेर्मालाई बुझाइएको कांग्रेस शिवसताक्षी सहसभापति बिनोद ढकालले बताए ।

११ वटा वडा रहेको सो नगरका सबै वडा सभापतिले भर्चुअल बैठकमा भाग लिएर राय राखेको ११ नम्बर वडा सभापति अशोक बस्नेतले बताए । स्थानीय पार्टी समितिले भर्चुअल बैठक शिवसताक्षी कांग्रेसले गरेको बस्नेतको दाबी छ । शिवसताक्षी — ६ का वडाध्यक्ष समेतरहेका कांग्रेस युवा मनोज खुलाल कार्कीले यसरी बैठक बस्न सक्नुलाई प्रविधिमा पहुँच स्थापित भएको मान्नु पर्ने बताए । यसअघि नगरपालिकालाई १ लाख ६५ हजार रुपैयाँ , इलाका प्रहरी कार्यालयलाई इन्धन, स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइसकेको कांग्रेस शिवसताक्षीले छिटो राहत प्याकेज कार्यक्रम घोषणा गर्ने तयारी गरेको जनाइएको छ । मुलुकमा जारी बन्दाबन्दी र कोरोना संक्रमणको त्रासको यो बेला अनावश्यक जमघट नगरी प्रत्यक्ष भेट गर्न असहज हुँदा पनि आवश्यक काम गर्न सकिन्छ भन्ने सन्देश दिनु भर्चुअल बैठक गर्नुको मुख्य उद्देश्य भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्