दमक,१० बैशाख । झापा कमल गाउँपालिका— ७ स्थित गेउरियाका अगुवा कृषक ओमनाथ तिम्सिनाले यसवर्ष ५ कठ्ठा जमिनमा सूर्यमुखी फूलको खेती गरेका छन् ।

तेलहनका लागि राम्रो मानिने सूर्यमुखी फूल यो बेला ढकमक्क फुलेका छन् उनको वारीमा । बाटो आउजाउ गर्नेका लागि ढकमक्क सूर्यमुखी फूलले मननै तान्ने गर्दै आएको छ । मनमोहक देखिएको सूर्यमुखी फूल खेती अहिले वाटो आउजाउ गर्नेका लागि फोटो लिने ठाँउ बनेको तिम्सिना बताउँछन् । भन्छन् , ‘सूर्यमुखी नाम जस्तै उत्पादन हुँदोरहेछ, यसले मननै प्रफुल्ल वनाउँछ’
लामो समयदेखि व्यावसायिक सव्जी खेती गर्दै आएका उनले यसवर्ष भने पहिलोपटक तेलहनका लागि सूर्यमुखी फूल खेती गरेका हुन् । गाउँपालिकाबाट एक केजी बीऊ अनुदान पाएर गरेको यस फूलखेतीले मनग्यै उत्पादन दिने अनुमान गर्छन् उनी । मलजलले गर्दा यस फूलले राम्रै उत्पादन दिने देखिएको उनको भनाइ छ । उनका अनुसार वारीमा लगाएको सवै बोट भर्खरै फुलिसकेका छन्, अवको महिना दिनभित्रमा यसवाट तेल निकाल्न सकिन्छ । इन्टरनेटको सहायताबाट खेती थालेका उनले विरुवाको हेरचाहदेखि बाली काट्नेसम्मको कृषि प्राविधिक ज्ञान सिकेको बताउँछन् । नजानेको कुरा इन्टरनेटबाट खोजेर पनि प्राविधिक ज्ञान लिदै आएको उनले सुनाए ।
यसअघि तेलहनका लागि तोरीको खेती गरिदै आएपनि पछिल्ला समय भने कृषकहरु सूर्यमुखी फूल खेतीतर्फ आकर्षित हँुदै आएका छन् । सूर्यमुखी फूल खेतीमा यसरी नै आकर्षित भएको बताउने कृषक तिम्सिनाले तेलहनका लागि तोरीभन्दा यस फूलको खेतीको उत्पादन बढ्नेसंगै स्वास्थ्यका हिसावले समेत उपयोगी भएकाले पनि परीक्षणका रुपमा यस खेती थालेको बताए । यस खेतीवाट राम्रै उत्पादन दिए बर्सेनि यसरी नै व्यावसायिक खेती गर्ने कृषक तिम्सिनाको सोचाई छ । उनले भने,–‘यसपटक सूर्यमुखी फूलले रामै उत्पादन दियो भने यसरी नै नियमितसंगै खेती समेत विस्तार गर्छु ।’

भान्सामा प्रयोग गरिने अन्य तेलभन्दा यस फूलको तेल गुणस्तरीय मानिने कृषकको बुझाई छ । तेलहनमा आत्मनिर्भर बन्न प्रेरणा दिनसमेत उनले यस खेती थालेका हुन् । बजारको तेलभन्दा आफैले उत्पादन गरेको विषादीरहित तेल उपभोग गर्नसके हाम्रो स्वास्थ्य सुरक्षामा थोरै भएपनि यसले सघाउँ पुग्ने तिम्सिनाको जिकिर छ । भन्छन्, –‘ शरीर स्वस्थ्य वनाउन हामीले खानेतेलमा पनि स्वच्छतामा ध्यान दिनुपर्छ,त्यसका लागि पनि यस खेती थालेको हुँ ।’
मलजलसंगै मेहनत गरेअनुसार उनले ५ कठ्ठा जमिनमा १० मनभन्दा बढी तेल उत्पादन गर्ने अनुमान गर्छन् । वजारमा अहिले १ सय रुपैया प्रतिकेजी यस फूलको फल विक्री हुन्छ । उनले भने,–‘सूर्यमुखीको खेतीवाट तेलका लागि आत्मनिर्भर वन्न सकिने रहेछ, यसमा राज्यले समेत प्रोत्साहन दिनुपर्छ ’
गाउँपालिकाले यसवर्ष ७ वटै वडाका कृषक समूहलाई सूर्यमुखीको ६० केजी बीऊ अनुदानको रुपमा वितरण गरेको थियो । तेलहनमा आत्मनिर्भर गराउन गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहनअनुरुप निशुल्क बीऊ वितरण गर्दे आएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोख्रेलले बताए । कृषि समूहमार्फत बीऊ पाएकामध्ये कमल ५,६, ७ , १ का कृषकले लगाएको सूर्यमुखी खेती फष्टाएको छ । तीमध्ये पनि तिम्सिनाले लगाएको सूर्यमुखी भने राम्रो भएको अनुगमनका क्रममा आएका कृषि प्राविधिक पोख्रेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्