झापा,११ बैशाख । नेपालमा बुधबार मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ मा कोरोना पोजेटिभ देखिएको प्रदेश नम्वर एकका कोरोना सम्वन्धि सूचना अधिकारी ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनले प्रतिष्ठानमा गरिएको परीक्षणमा हिजो मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको बताए । संक्रमित ६ जना नै पुरुष रहेका छन् । जसमा ५ जना नेपाली र एक भारतीय रहेको बस्नेतले बताए । उनका अनुसार हिजो संक्रमण पुष्टि भएकाहरु उदयपुरकै रहेका छन् । भुल्केबाट नमुना लिइएकाहरुमा नै कोरोना पोजेटिभ देखिएको बस्नेतले जानकारी दिए ।
यसअघि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा नै गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो । प्रदेश नम्वर १ मा हालसम्म पिसिआरबाट ८ सय २३ र आरडीटीबाट ३ हजार ५ सय ९२ जनाको परीक्षण भएको छ । प्रदेश नम्वर एकमा अहिले १ हजार ७० जना मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसैबीच प्रदेश १ को विराटनगरस्थित कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रको सुरक्षाका लागि बुधबारबाट नेपाली सेना खटाइएको छ । प्रदेशमा मात्र कोरोना पुष्टि हुनेको संख्या २८ पुगेपछि अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइएको हो। उदयपुरमा कोरोना पुष्टि भएका १६ नेपाली र १२ भारतीय नागरिकको उपचार भइरहेको अस्पतालको सुरक्षा जिम्मा पहिलो पटक सेनालाई दिइएको हो ।

यस अघि अस्पतालको सुरक्षाका लागि प्रहरी मात्रै परिचालन गरिएको थियो। प्रदेश १ मा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला सुरक्षा समिति मोरङको बुधबार बसेको बैठकले अस्पतालको सुरक्षामा सेना पनि खटाउने निर्णय गरेको हो। अब अस्पताल सुरक्षामा सेना र प्रहरीको संयुक्त टोली रहने छ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालको सुरक्षाका लागि सेना खटाउने विशेष निर्णय भएको जानकारी दिए। उनले विभिन्न घटनाक्रम अनुसार चौतर्फी प्रहरी उपलब्ध गराउनुपर्ने अवस्थामा सहजता प्रदान गर्न अस्पताल सुरक्षामा सेना खटाउनु परेको बताए। मोरङको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणका प्रमुख सेनानी रघु पौडेलले अस्पतालको सुरक्षाका लागि सबै ध्यान केन्द्रित गरिने उनले बताए। त्यहाँ खटिएका प्रहरीलाई सहयोग गर्दै अस्पतालको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने जानकारी उनले दिए । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार गर्न विराटनगरमा १० वटा भेन्टिलेटरसहित ५० बेडको कोभिड—१९ उपचार केन्द्र सञ्चालन गरेको छ । प्रदेश १ को उदयपुरमा फेला परेका कोरोना संक्रमितको यही केन्द्रमा उपचार भइरहेको छ । उदयपुरमा २६ पुरुष र २ महिनामा कोरोना देखिएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्