झापा, बैशाख ११ । विजय डालमिया विपदमा परेका हरेकको साथी बन्छन्, यो उनको कर्मले सिद्द गरेको तथ्य हो । जब विपद आइलाग्छ उनी सक्रिय हुन्छन् । अहिलेको कोरोना कहरमा पनि यो देखिएको छ ।

झापा मेचीनगर नगरपालिका—६ का युवा व्यवसायी विजयको यो क्रम २०७२ वैशाख १२ को विनासकारी महाभुकम्पको बेलादेखि तीव्र भएको हो । त्यसपछिका बाढीपहिरो, आगलागी वा त्यस्तै प्रकृतिका कुनै पनि विपदका घटनामा उनको उपस्थिति दर्बिलो हुन्छ, भएको छ मेची अभियानको ब्यानरमा ।
संसार अहिले कोरोना भाइरसका कारण त्रसित छ, भनिरहनु नै पर्दैन । कोरोनासँग जुध्न र आमनेपालीलाई कसरी जोगाउन सकिन्छ भन्नेमा डालमियाको ध्यान यतिबेला गजबले तानिएको छ । उनी संक्रमितको उपचारमा सलग्न स्वास्थ्यकर्मी र यो बेला परिचालन हुने सुरक्षाकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव हुन नदिन लागिहाले सुरुवाती दिनबाट नै । पछिल्ला दिनमा यो क्रम फराकिलो बन्दै गएको छ । डालमियाले भारतको राजधानी दिल्लीबाट २०० थान पिपिई ल्याएर मेचीनगर नगरपालिकालाई हस्तान्तरण गर्न भ्याए ।
कोरोना संक्रमणको जोखिम बढेसँगै बजारमा सेनिटाइजरको अभाव भयो । मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका उनले व्यावसायिक सम्पर्कका आधारमा तत्काल सेनिटाइजर ल्याएर उपलब्ध गराउन पनि भ्याए । एक महिना अघि अथवा चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएका धेरै परिवारलाई ‘मेची अभियान’ मार्फत खाद्यान्न सहयोग गरिसकेका छन् ।

उनीसँगै मेचीनगरका युवाको सक्रियतामा राजनीतिक दलका स्थानीय प्रतिनिधिसमेत सम्मिलित छन् ‘मेची अभियान’ मा । २०७२ को महाभुकम्प पीडितलाई सहयोग गर्न यो सहयोगी संस्था स्थापना भएको थियो । तत्कालीन अवस्थामा मेची अभियानले देशका विभिन्न ठाउँमा रहेका भुकम्प पीडितका लागि राहत लगायतमा सहयोग गरेको थियो । सिन्धुली लगायत जिल्लामा घर निर्माण गरेर मेची अभियानले दुखीको दुखमा मलहमपट्टी गरेको थियो, जसको संयोजक विजय हुन् ।
नेपालमा कोरोनाको संक्रमण जोखिम थप बढेपछि डालमियाले घरमा गुणस्तरीय मास्क र पिपिई सेट बनाइरहेका छन् । परिवारका सदस्यसमेत संकटका बेला आमनेपाली नागरिकलाई बचाउन मास्क र पिपिई सेट तयार गर्न जुटेका छन् ।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएरै बिराटनगर पुगेर त्यहाँका व्यवसायीसँगको समन्वयमा सामग्री ल्याएर घरमै पिपिई र मास्क बनाउने काम गरिरहेको डालमियाले बताए । उनका अनुसार एक सेट पिपिईको मुल्य एक हजार एक सय छ । डालमियाको घरमा नै बनिरहेको मास्क तत्कालका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मात्रै उपलब्ध गराइन्छ र एउटा मास्कको ५५ रुपैयाँ पर्छ । आवश्यकता अनुसार पिपिई र मास्क बनाउन सकिने डालमियाको भनाइ छ ।
देश, विदेशका समेत व्यवसायीसँग राम्रो सम्बन्ध भएका डालमिया विपदमा रहेकालाई सहयोग गर्न उनीहरूलाई आग्रह गर्छन् । र, सहयोग जुट्छ अनि काम पनि गर्न सकिएको उनले बताए ।
आपतकालीन अवस्थामा सरकार र त्यस मतहतले मात्रै गरेको कामले आमनागरिकको पीडा कम गर्न नसकिने मान्यता राख्ने उनी सहयोगी हात जुटे विपदको सामना गर्न बल पुग्ने बताउँछन् । शारीरिक अशक्त र अभिभावकबिहीन देवी मेचेलाई घर बनाएर सुरक्षा दिने अभियानको उनले नेतृत्व मात्रै गरेका छैनन्, धेरैलाई मानवीय सहयोग गरेका छन् । अहिले डालमिया कोरोना संक्रमण हुन सक्ने र मानिसको बढी भीडभाड हुने स्थानमा सेनिटाइजर मेसिन वितरणमा जुटेका छन् । मेची अभियान अन्तरगत विभिन्न संघसंस्था र व्यक्तिको समन्वयमा त्यो काम भइरहेको उनले बताए । डिसइन्फेक्सन टनेल निर्माण, वितरण र जडानमा अभियान केन्द्रित भएको उनले बताए । टनेल मेची अञ्चल अस्पताल,इलाका प्रहरी कार्यालय काँकरभिट्टा, जिल्ला प्रहरी कार्यालय भद्रपुर लगायतका स्थानमा जडान गरिसकिएको उनले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्