झापा, १२ बैशाख । आज पछिल्लो विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ । यसै अवसरमा आज पाचौँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

पाँच वर्षअघि आजैका दिन (०७२ वैशाख १२ गते) गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई ७.८ म्याग्निच्यूट स्केलको भूकम्प गएको थियो । सो विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाएकाहरूको स्मरण गर्दै राष्ट्रपछि विद्यादेवी भण्डारीले उनीहरूप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले भूकम्प स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै भूकम्पमा परी घाइते तथा अंगभंग भई हालसम्म पनि समस्यामा रहेकाहरूको सहज जीवनको कामना गरेकी छन् ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा प्रभावितहरूको पुनर्स्थापनाका कार्यहरूलाई अघि बढाएको र यसबीच करिव पाँचलाख निजी आवास पुनर्निर्माण सम्पन्न हुनाका साथै करिब दुईलाख निजी आवास पुनर्निर्माणको प्रक्रियामा रहेको पनि उनले बताएकी छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ०७२ सालको विनाशकारी भूकम्प स्मरण गर्दै पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा एक सन्देश जारी गरेका छन् । उनले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझैँ सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्