झापा, वैशाख १२ ।नेपाल विद्यार्थी संघले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै शुक्रबार देशभर प्रदर्शन गर्ने भएको छ ।

नेविसंघका सभापति राजीव ढुंगानाले बिहीबार विज्ञप्ति निकालेर अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाए । अध्यादेशविरुद्ध शुक्रबार जिल्लाका प्रमुख स्थानमा सांकेतिक विरोध प्रदर्शन गरिने उनले बताए ।
सभापति ढुंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गर्न लागेको बताए। सामाजिक दुरी कायम राख्दै लकडाउनको नियम पालना गरी १० मिनेट प्ले कार्ड तथा कालोझण्डा बोकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गर्न उनले आग्रह गरेका छन् ।

विपतिको क्षणलाई पनि केपी ओली सरकारले निरंकुश हुने बाटोमा उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ । सरकारले जारी गरेको संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुबै अध्यादेशहरु असंवैधानिक, अराजनीतिक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएकाले ती विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महामन्त्री युवराज पाण्डेयले बताए।
शुक्रबारको कार्यक्रम सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउँदै, भीडभाड नगरी सांकेतिक रुपमा गर्ने अर्का महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्