झापा, १२ वैशाख ।झापा जिल्लामा अति विपन्न परिवारका लागि खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत ४१ हजार ५ सय ३८ परिवारलाई राहत वितरण गरिएको छ ।

बन्दाबन्दीका कारण रोजगारी गुमाएर भोकमरीमा परेका अतिविपन्न परिवारका एक लाख ६९ हजार ८ सय ८ जनालाई खाद्यान्न राहतस्वरूप वितरण गरिएको हो । झापाका १५ वटा स्थानीय तहले वडा वडामा गठन भएका टोल विकास संस्थामार्फत् न्युन आर्थिक अवस्था भएका अतिविपन्नको पहिचान गरी न्यूनतम १० किलोदेखि अवस्था हेरेर १५ किलोसम्म चामल तथा आवश्यकता अनुसार नून, तेल, दाल राहतस्वरूप वितरण गरेका हुन् । बन्दाबन्दीको एकमहिने अवधिमा खाद्य अभावले कोही पनि छट्पटिने अवस्था नरहेको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिको भनाइ छ ।
ती परिवारलाई सात लाख ५७ हजार २ सय ५० किलो चामल, ९५ हजार १ सय २७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४ सय १४ किलो तेल, २९ हजार ८ सय ५८ वटा साबुन र चिनी चिउरालगायत गरी ४९ हजार ९ सय ५१ किलो राहत सामग्री उपलब्ध गराइएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिको विवरणले देखाएको छ ।
यसैबीच झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म ६ करोड २० लाख ५६ हजार ७ सय ४३ रुपैयाँ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको ४ करोड ९३ हजार रुपैयाँ रहेको छ भने व्यक्तिगत एवंं सामाजिक संघसंस्थाका तर्फबाट २ करोड १९ लाख ६३ हजार ७ सय ४३ रुपैयाँ प्राप्त भएको छ । यस रकमलाई कोरोना संक्रमण रोकथाम, उपचार तथा अति विपन्नका लागि खाद्य सहयोगमा खर्च गर्ने गरी कोष परिचालन गर्ने नीति रहेको जनाइएको छ ।
झापा कोरोना संक्रमणबाट अहिलेसम्म सुरक्षित रहेको छ । चैत २८ गतेदेखि सुरू गरिएको द्रुत परीक्षण विधिबाट हालसम्म ६ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ सय ५९ जनाको आरडिटी, ८४ जनाको स्वाब, ८४ जनाको पिसीआर, ५९ जनाको पिसीआर र आरडिटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए । यी परीक्षणले अहिलेसम्म झापामा कोरोना संक्रमित नभएको पुष्टि गरिसकेका छन् ।
झापाका १५ स्थानीय तहले २७ स्थानमा ७ सय ७८ जना क्षमताका क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १ सय ८५ जना रहेका छन् भने २ सय ३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।
यस अवधिमा विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९ सय ९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५ सय ७ जना आएका छन् । त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २ सय २, कतारबाट १ सय १२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, अमेरिकाबाट १५, बहराइन र कुवेतबाट १४÷१४, दक्षिण कोरियाबाट नौ, ओमनबाट आठ, हङकङ, जापान र माल्दिभ्स्बाट छ÷छ जना आएका छन् । अन्य मुलुकबाट एक÷दुई जनाको संख्यामा झापा आएका छन् । वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जाने झापालीको संख्या यकिन नभए पनि ५० हजार बढी रहेको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्