झापा, १२ बैशाख । कोरोना भाइरस रोग संक्रमण रोकथामलाई व्यवस्थित बनाउन ट्रेसिङका लागि खटिन टिम निर्माण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्या अधिकृत,प्रयोगशालाका कर्मचारी र पारामेडिक्स÷नर्स गरी ३ जनाको टिम बनाएको हो । गाउँपालिकामा एक,नगरपालिकामा दुई,उप–महानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टिम परिचालन गरिने प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनले ट्रेसिङ बढिरहेकाले आज १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेको र काठमाडौंमा ३ र बाहिर ८६ गरी ८९ जना आइसोलेसनमा रहेको बताए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआरबाट ९ हजार ४ सय ७ र आरडीटीबाट ३८ हजार ८९ जनाको परीक्षण भएको छ । हालसम्म ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जना निको भएका छन् ।

यसैबीच भोजपुरका २६ वर्षका कोरोना संक्रमितलाई उपचारका लागि विराटनगर ल्याइदै छ । डा. देवकोटाले हिजो कोरोनाको पुष्टि भएका युवा अहिले भोजपुर हतुवागढीमा चिकित्सकको निगरानीमा रहेको र थप उपचारका लागि विराटनगर ल्याइदै गरेको जानकारी दिए । उनले फागुन ३० गते साउदी अरबबाट हिमालयन एयरबाट ती युवा नेपाल आएको बताए । संक्रमित युवा काठमाडौंबाट उदयपुर गएको र त्यहाँ केही समय बसेको तथा उदयपुरबाट भोजपुर गएको जानकारी मन्त्रालयलाई प्राप्त भएको प्रवक्ता देवकोटाले बताए । उदयपुरमा रहदा उनको सम्पर्कमा रहेका सबैको नमुना संकलन भइसकेको बताए । भोजपुरमा आरडीटीबाट परीक्षण गर्दा युवालाई पोजेटिभ देखिएपछि थप पीसीआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्