अशोक अधिकारी र राजेन्द्र गौतम,

झापा , वैशाख १३ । भारत र चीनसँग सीमा जोडिएका पूर्वका चारै जिल्लामा कोरोना महामारीविरुद्ध लड्न उच्च सतर्कता अपनाइएको छ ।

चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङ एवं भारतका सीमावर्ती पाँचथर, इलाम र झापामा स्थानीय प्रशासनले आवतजावतमा पूरै रोक लगाएको छ । नेपालमा काम गर्ने भारतीय फर्कन चाहेर पनि यतै रोकिएका छन् । मौसमी कृषि मजदुरी, ठेक्कापट्टा र व्यापारिक कारोबारका लागि हजारौं भारतीय पूर्वीनाकाबाट नेपाल आउनेजाने गर्छन् ।भारतबाट नेपाल आउने मुख्य नाका झापाका काँकरभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर र पाँचथरको च्याँङथापु हुन् । तीबाहेक स्थानीय स—साना नाकामा पनि सुरक्षाकर्मी परिचालन गरी कडाइ गरिएको सम्बद्ध अधिकारीहरूले बताए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईं, इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईं र झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोरोना भाइरस संक्रमणको जोखिम हुनै नदिन आवश्यक सम्पूर्ण तयारी गरिएको जानकारी दिएका छन् । पूर्वी नेपालका हजारौं सर्वसाधारण मजदुरी र रोजगारीका लागि भारतको सिक्किम, आसाम, मणिपुर, मेघालय, अरुणाचल प्रदेश र नागाल्यान्ड जान्छन् ।
मेघालयमा कोइलाखानी मजदुरी गर्न, मणिपुर, आसाम र अरूणाचल प्रदेशका जङ्गलमा काठ काट्न तथा होटल, रेस्टुराँलगायतमा काम गर्न जाने नेपालीको संख्या अहिले पनि ठूलै छ । भारतको राष्ट्रिय जैविक प्राधिकरणले खानी सञ्चालनमा पनि रोक लगाएको छ ।यतिबेला पूरा भारतभर लकडाउन छ । लकडाउन विस्तारै निश्चित क्षेत्रमा क्रमशः खुलाउँदै जाने भारतको रणनीति सार्वजनिक भइसकेको छ । सोही क्रममा नयाँदिल्ली तथा दक्षिण भारतमा अड्किएका हजारौं विद्यार्थी, उपचारका क्रममा उतै रहेकाहरू फर्कन खोज्दा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती नेपाली प्रशासनले आँकलन गरिसकेको छ ।
‘अहिले साविक सुरक्षाकर्मीमा ९ सयजना जति थप गरेका छौं। हरेक ५ सय मिटरमा एउटा पोस्ट खडा गरिएको छ । नेपाली–भारतीय प्रवेश गर्न सक्छन् भनेर १ सय ५९ पोस्ट स्थापना गरेका छौं,’ प्रजिअ रानामगरले भने ।

सुरक्षाकर्मी थपेर नाकामा कडाइ — सिडिओ झापा
झापा अत्यन्तै जोखिममा छ । समथर भूभाग र सुरक्षाकर्मी अभावका कारण भारतीय सीमाक्षेत्रबाट नेपाल प्रवेश गर्न सजिलो छ । तर, १ सय ४४ दशमलव २ किलोमिटर भारतसँगको खुला सिमानामा सुरक्षाकर्मी थप गरी प्रवेश गर्न खोज्नेलाई रोकिएको झापाका प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।
‘अहिले साविक सुरक्षाकर्मीमा ९ सयजना जति थप गरेका छौं। हरेक ५ सय मिटरमा एउटा पोस्ट खडा गरिएको छ। नेपाली–भारतीय प्रवेश गर्न सक्छन् भनेर १ सय ५९ पोस्ट स्थापना गरेका छौं,’ प्रजिअ रानामगरले भने ।
प्रत्येक पोस्टमा सशस्त्र प्रहरी बलका चार र नेपाल प्रहरीका दुईजना परिचालन गरिएको तथा कतिपय स्थानमा संयुक्त पोस्ट रहेको रानामगरले बताए। ‘एउटा पोस्टबाट अर्को पोस्टमा हेर्न सक्ने गरी व्यवस्था गरिएको छ । जसले गर्दा नेपाल प्रवेश गर्ने–भाग्ने स्थितिलाई कन्ट्रोल गरिएको छ,’ उनले भने ।
तर, पानी–झरीले गर्दा प्रशासनले गरिरहेको काममा केही समस्या भएको प्रजिअ रानामगरले बताए। त्रिपालका भरमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। लकडाउन अवधिभरलाई अस्थायी रूपमा यसरी नै सुरक्षा प्रदान गर्ने उनले प्रष्ट पारे।
‘तथापि, राष्ट्रिय र अन्तर्राष्ट्रिय लकडाउन कहिलेसम्म रहन्छ, त्यति बेलासम्मका लागि यसरी नै काम चल्छ । तर, यो स्थायी समाधान होइन,’ रानामगरले भने, ‘स्थानीय तह र जनप्रतिनिधिको सहयोग पाएकाले केही हदसम्म काम गर्न सहज भएको छ ।’
अहिले झापाका सबै प्रवेशद्वार पूर्णरूपमा बन्द छन्। तर, लकडाउन सुरु हुनुभन्दा पहिल्यै जिल्लामा प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टाइनमा राखेर परीक्षणपश्चात् केहीलाई घर पठाइएको र केहीलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको उनले बताए।
नेपाली र विदेश गरी २ सयजना जति अहिले पनि क्वारेन्टाइनमा रहेको प्रजिअ रानामगरले जानकारी दिए। ९० जना जति भारतीय झापाका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेको उनले बताए।
‘भारतीयहरू काम गर्न नेपाल आएका थिए। घर फर्किन लागे पनि अन्तर्राष्ट्रिय नाका बन्द भएको अवस्थालाई दृष्टिगत गरी हामी आफैंले क्वारेन्टाइनमा राखेर खाने बस्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।
क्वारेन्टाइन व्यवस्थापन गर्ने, जाँच गर्ने, काठमाडौं, भारत र तेस्रो मुलुकबाट आएका १ हजार १ सयजनाको ट्रेसिङ गरी र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिरहेको प्रजिअ रानामगरले बताए । ‘८ सय जनाको र्यापिड टेस्ट गरिएको छ । करिब सयजनाको स्वाब परीक्षण गरेका छौं ।त्यसमध्ये एकजनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको छ ,’ उनले भने। भारत दार्जिलिङ जिल्लाका प्रशासकसँग पनि समन्वय भइरहेको रानामगरले बताए ।
‘फोन सम्पर्क भइरहेको छ । नेपाल सरकारले गरेको निर्णय र भारत सरकार तथा बंगाल सरकारले गरेको निर्णयबारे जानकारी आदानप्रदान भइरहेको छ,’ रानामगरले भने, ‘भारतबाट आउने नेपालीलाई सीमापारि राख्ने र नेपालबाट भारत जान चाहनेलाई सीमावारि नै राख्ने र बोर्डरलाई पूर्णरूपमा सिल गर्ने काम भइरहेको छ ।’

रातारात नेपाल प्रवेश गरेको सूचना पाएपछि बोर्डर सिल — प्रजिअ पाँचथर
सिक्किम र दार्जिलिङबाट सबैभन्दा सजिलो प्रदेशद्वार पाँचथर हो । सीमा नाकामा जंगल रहेका कारण दार्जिलिङबाट हिँडेरै पाँचथरका विभिन्न गाउँ पुग्ने बाटो त्यही नाका हो।
तर, लकडाउन सुरू भएपछि पाँचथरका सबैजसो नाका बन्द गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईंका अनुसार स्थायी रूपमा सुरक्षापोस्ट स्थापना गरी सर्वसाधारणको आवतजावत रोकिएको छ ।
‘करिब तीन साताअघि नाकाबाट रातारात मान्छे प्रवेश गरेको जानकारी आयो, अनि गस्ती खटायौं। तर, गस्तीले मात्रै नहुने देखिएपछि स्थायीरूपमै सुरक्षा पोस्टहरू स्थापना गरेर आवतजावत बन्द गरिएको छ,’ प्रजिअ शर्माले भने ।च्याङथापु, मेमेङ र भैंसेमा सशस्त्र प्रहरी बलको टोली खटाइएको उनले बताए सुरक्षाकर्मीसँगै जनप्रतिनिधि पनि खटाइएकाले कुनै समस्या नभएको उनको भनाइ छ । पहिलो चरणमा २०७६ चैत सुरुमा नेपाल आएका सर्वसाधारणलाई खोजी गरेर क्वारेन्टाइनमा राखिएको बताउँदै शर्माले केहीको आरडिटी गरिएको र केहीको स्वाब टेस्ट गरिएको जानकारी दिए।
‘टेस्ट गर्दा नेगेटिभ आएपछि उहाँहरूलाई क्वारेन्टाइनमा बस्ने गरी फर्कायौं। पहिलो चरणपछि क्वारेन्टाइन रिक्त अवस्थामा पुगेको थियो, तर हिँडेरै पाँचथर प्रवेश गरेका केही घटना थाहा भएपछि पहिचान गरेर वडा परिचालनमार्फत् क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने ।
शर्माले ८० जनालाई क्वारेन्टाइनमा राखिएको बताए। स्थानीयले अत्यन्तै सतर्कता देखाएको र कोही नयाँ प्रवेश गरे तत्कालै प्रशासनमा जानकारी दिने गरेको उनले बताए।

चीन र भारतका नाका ठप्प छन् — प्रजिअ ताप्लेजुङ
ताप्लेजुङ भौगोलिक रूपमा पनि अत्यन्तै विकट जिल्ला भएकाले चीन र भारतबाट प्रवेश गर्न त्यति सजिलो छैन। यद्यपि, प्रशासनले सीमा क्षेत्रमा निगरानी गरिरहेको छ ।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिले चीनसँगको टिपताला नाका पूर्णरूपमा बन्द छ । ‘हिउँ परेर चीनसँगको नाका बन्द छ, त्यसमाथि अहिल भारी वर्षा भइरहेका कारण पनि ओहोरदोहोर गर्न सम्भव छैन,’ निरौलाले भने।
ताप्लेजुङसँगको चिनियाँ नाका अझै एक महिना खुल्न सम्भव नरहेको उनले बताए। ‘ओलाङचुङगोलातिरका नाका प्राकृतिकरूपमै बन्द रहेकाले त्यताबाट कुनै जोखिम छैन र तिब्बतमा कोरोना संक्रमण नरहेकाले जोखिम नहुनेमा ढुक्क छौं,’ उनले भने।
भारतसँगको सिमानामा पनि त्यति सहज नभएकाले त्यताबाट सर्वसाधारणको प्रवेश नहुनेमा प्रजिअ निरौला विश्वस्त छन्। प्रायः सिक्किमबाट आउने वा जाने मानिसले च्याङथापु नाका प्रयोग गर्ने भएकाले त्यहाँ सुरक्षा प्रबन्ध भइसकेको उनले बताए।
सिदिङबा गाउँपालिकाको कालिखोलामा हेल्थडेस्क राखिएको निरौलाले बताए। ‘हेल्थडेस्कमा अहिलेसम्ममा एकजना मात्रै प्रवेश गरेको देखिएको छ । पछिल्लो २२ दिनमा एकजना मात्रै प्रवेश गरेकाले ताप्लेजुङमा अन्य कोही प्रवेश गरेको छैन भन्न सकिन्छ,’ उनल भने, ‘विदेशबाट वा अन्य जिल्लाबाट आउनेका लागि काबेलीमै हेल्थ डेस्क राखिएको छ ।’
एक महिनायता प्रत्येक सवारीसाधनका यात्रुको स्वास्थ्य जाँच भएको उनले बताए। अहिलेसम्ममा १ सय २३ जनामा आरडिटी गरिएको र हालसम्म सबै नेगेटिभ रहेको निरौलाले जानकारी दिए। ‘त्यसकारण सबै हिसाबले ताप्लेजुङ सुरक्षित छ,’ उनले भने।

कोही प्रवेश गरे तत्कालै स्थानीयबासीबाट सूचना आउँछ — प्रजिअ इलाम
पर्यटकीय गन्तव्य इलाममा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतसँगको ५२ किलोमिटर सिमानामा निगरानी भइरहेको छ ।
विपद व्यवस्थापन समितिको समन्वयमा जिल्लामा काम भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले बताए। सुरक्षा निकायका प्रमुख, नगरपालिका प्रमुखलगायत टिमले स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गर्दै काम गरिरहेको उनले बताए।
‘नेपाल प्रहरीका साविकका पोस्टहरूमा जनशक्ति बढाएर मजबुत बनाएका छौं। सशस्त्र प्रहरी बलका बोर्डर आउटपोस्ट १६ स्थानमा निर्माण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ प्रजिअ सेडाईंले भने, ‘भारतमा पनि लकडाउन भएकाले उताबाट पनि सुरक्षाकर्मी परिचालित भएकाले दुवै देशमा आवतजावत पूर्णरूपमा बन्द छ ।’
सुरक्षा चुस्त बनाइए पनि कुनै साना नाकाबाट कोही प्रवेश गरे स्थानीयले सूचना दिने गरेको उनले बताए । यसरी ६–७ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए।
‘अन्य जिल्लाबाट आएकाहलाई पनि क्वारेन्टाइनमा राखिन्छ । उचित सल्लाह सुझाव र स्वास्थ्य सुबिधा दिएर होम क्वारेन्टाइनमा राख्ने गरिएको छ,’ उनले भने, ‘कतिपय होम क्वारेन्टाइन पूरा गरेर स्वाभाविक जीवनमा फर्किनुभएको छ । करिब ३० जना अहिले पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ ।’
बाह्य मुलुकबाट आएकालाई होम क्वारेन्टाइनमा राखिए पनि र्यापिड टेस्ट गरिएको प्रजिअ सेडाईंले बताए। ३ सय ३ जनाको परीक्षण गरिएको र सबैमा संक्रमण नेगेटिभ आएको उनले बताए।
‘एक महिना अगाडि आएकामा संक्रमण नदेखिएपछि जिल्लाबासी ढुक्क हुनुहुन्थ्यो, तर अहिले काठमाडौंबाट घर फर्किनेहरू र अन्य जिल्लाबाट हिँडेरै आउनेहरूका कारण मनोवैज्ञानिक त्रास देखिन्छ,’ सेडाईंले भने, ‘हरेक गाउँपालिकाले क्वारेन्टाइन बनाएको हुनाले अवस्था हेरेर उनीहरूको व्यवस्थापन गरिँदैछ। स्थानीयस्तरमै आएको सचेतनाले कोरोना संक्रमण फैलिन सक्ने संभावना देखिदैन ।‘

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्