द्रोण अधिकारी ।
भद्रपुर, १३ बैशाख । मृतस्वरूपको भद्रपुर नगरलाई चलायमान बनाउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्व सरकारले चन्द्रगढीमा निर्माण थालनी गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण सुरू भएको ५ वर्षे अवधि पार गर्न लाग्दा पनि आधा काम भन्दा अगाडि बढ्न सकेको छैन ।

गएको दुई आर्थिक वर्ष वजेट निकासामा सरकारले आनाकानी गर्दा निर्माण ठप्प छ भने यस आर्थिक वर्षमा पनि समयमा वजेट नआउँदा काम थालनी नै नहुँदा निर्माणको अवस्था आधामा सीमित भएको हो । कोरोनाका कारण यस वर्ष भवन निर्माण सुचारू नहुने संकेत देखिएपछि निर्मार्ण ठेकेदारले रेखदेखका लागि खटाएका कामदारसमेत घर फिर्ता गरिदिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भएपछि नेतृत्व गरेको कांग्रेस सरकारले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण भूमिकाको रूपमा चन्द्रगढीस्थित ट्रेड युनियन चोक दक्षिणको जिल्ला समन्वय समितिको खाली जग्गामा अन्तर्राष्ट्रियस्तरको भवन बनाउने निर्णय गरेको थियो । त्यस निर्णयबिरुद्ध तत्कालीन नेकपा एमाले झापाले कडा प्रतिवाद गरेर निर्माण आरम्भ नभई भवन निर्माण विवादमा परेपछि निर्माण हुने नहुने अलमल्ल भएको थियो । तर, तत्कालीन स्थानीय विकास अधिकारी फणिन्द्र दाहाल र प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले राजनीतिक दलहरुबीच सहमति कायम गराएर सो भवन निर्माण कार्य अघि बढाएका थिए ।
वि.स.२०७२ असार २८ गते शिलान्यास भएको सो भवनको शिलान्यास समारोहमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार र नेकपा(एमाले) का प्रमुख सचेतक अग्नि खरेलको सामूहिक उपस्थितिमा भवन निर्माण सुरु भएपछि विवाद अन्त्य भएको सन्देश स्थानीयस्तरमा देखिएको थियो ।

अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सो सभागृह १२ करोड ७२ लाख ६९ हजारको लागतमा दुई वर्षभित्र निर्माण पूरा गर्नेगरी प्रेरा–शाहा जेवी निर्माण कम्पनीले ठेक्का लिएको छ । निर्माणाधिन भवनको लम्वाई ५३ मिटर र चौडाई ३४ मिटर रहने छ भने पहिलो तलामा ब्यावसायिक उद्देश्यका लागि २७ वटा कोठा, दोस्रो तलामा दुई वा तीनवटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभाहल बन्ने छ । संभवतः पूर्वाञ्चलमा सरकारीस्तरबाट यति बलियो भवन पहिलोपटक बन्न लागेको अनुमान छ । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको बर्गाकारमा फैलिएका छन् । सो भवन निर्माण गर्न तत्कालीन जिल्ला विकास समितिले सो स्थानलाई खाली गराउन करिव आठ महिना समय खर्चेपछि निर्माण कम्पनीले भवन निर्माण सुरु गरेको थियो ।
निर्माण कम्पनीले समयमा पाउनु पर्ने भुक्तानी नपाएकोले निर्माण काममा केही ढिला हुन गएको प्राविधिक पक्षको नियामक कार्यालयको भनाइ छ । भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफूले दिनरात गरेर काम गरिरहेपनि केही प्राविधिक कारणले भवन निर्माणमा ढिलाई भएको जानकारी दिए । यसका लागि जिल्ला समन्वय समितिले बजेट निकासा र जग्गा खाली गराउन गरेको ढिलाईमा सुरूवातको समय विनाकारण खर्च भएको उनको भनाइ छ । निर्माण अवधि पूरा भइसकेको तथा पटक—पटक म्याद थप गरे पनि सरकारले भुक्तानी रोकेपछि काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीको भनाइ छ । अब वजेट निकासा भए एक वर्ष समय थपको माग गरेको कम्पनीका सञ्चालक साहले जानकारी दिए । यस वर्ष कामको सिजनमा लकडाउन हुनु र वजेट निकासा नआउनुले निर्माण रोकिएको साहले जानकारी दिए ।
भवनले भद्रपुर नगरलाई नै बाह्य पर्यटकको केन्द्र बन्न आकर्षित गर्ने स्थानीयले विश्वास गरेका छन् । भवनसंँग जोडिएर रहेको मेची रंगशाला र महेन्द्रपार्क नजिकै भएकोले थप आकर्षणका लागि भवन वरपर घेरावेरा हुनु पर्ने, पार्क बन्नु पर्ने, फरक ढंगका केही मौलिक संरचना बन्ने वातावरणका निम्ति राज्यले थप बजेटको व्यवस्था गर्नु पर्ने स्थानीय बताउने गर्छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल भन्छन् — कांग्रेसले जितेर विगतमा झापा क्षेत्र नम्बर ३ मा केही गरेन भन्नेहरूले यस भवनको पूर्णतापछि के उत्तर देलान् ? हुलाकी सडक, मेची पुल र गिरिजाप्रसाद स्मृति सभागृह निर्माणका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले खेलेको भूमिका बिर्सन नहुने पोखरेलले प्रष्ट पारे । दुई वर्षयता बजेट रोकेर वर्तमान सरकारले तमासा देखाएको भन्दै झापाकै प्रधानमन्त्री रहँदा झापा चिनाउने आयोजना अलपत्र पर्नु बिडम्वना भएको उनी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्