झापा, बैशाख १४ । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई आवश्यक परे केन्द्रीय कमिटीको बैठकसम्म बोलाउन सुझाव दिएको स्पष्ट पारेका छन् ।

आफूले सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको उनको भनाइ छ । आज एक हस्तलिखित पे्रस बिज्ञप्ति जारी गर्दै उनले भनेका छन् ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’ हिजो प्रधानमन्त्री ओली र आफूबीच भएका कुराकानीका सम्बन्धमा विभिन्न टिकाटिप्पणी भएको भन्दै पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको प्रष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमले भनेका छन् ‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्याको समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ ।’ प्रधानमन्त्रीले धैर्यतापूर्वक आफ्नो सल्लाह सुनेर थोरै मात्र बोलेको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्