झापा,१४ बैशाख । वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षकी युवतीको आज बिहान मृत्यु भएको हो । उनको तीनपटक सम्म आरडीटीमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।उपचारका लागि नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । युवतीको शव नारायणी अस्पतालमै छ ।उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशाला पठाइएको उपाध्यायले बताए । ’३ पटक लगातार आरडिटी टेष्टमा रिपोर्ट पोजिटिभ आएपछि केश शंकास्पद देखियो, यकीन गर्न स्वाब हेटौँडा पठाएका छौ’ मेसु उपाध्यायले भने ।

ब्लड क्यान्सरबाट पीडित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । एक महिनाअघि क्यान्सर अस्पतालबाट घर फर्किएकी उनलाई हिजो बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेकोमा मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्पिटलमा पुर्याइएको थियो ।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटल लगे । हिजो तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि गए राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आज बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्