झापा, बैशाख १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ ।

सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई खनाल र सांसदद्वयले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनीहरूविरूद्ध जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरू आज महानगरीय प्रहरी परिसर कार्यालय टेकु पुगेका थिए ।सुरूमा मुद्दा शाखाका डिएसपीले घटना महोत्तरीको भएको भन्दै उतै गएर उजुरी दिन भनेका थिए । उनले कार्यालय प्रमुख एसएसपी श्याम ज्ञवाली पनि कार्यालयमा नभएकाले उजुरी दर्ता गर्न आनाकानी गरेका थिए । कार्यालय समय सकिने केही मिनेटअघि काठमाडौं परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवाली टेकु आएका थिए ।
एसएसपी ज्ञवालीले जाहेरी ठाडै अस्वीकार गरिदिएको पूर्वप्रधानमन्त्री एंवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जानकारी दिए । ‘एसएसपीले जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरिदिनुभयो। उहाँलाई थाहा छ जाहेरी दर्ता गर्नुपर्छ भन्ने तर उहाँलाई माथिबाट आदेश आएको छ,’ भट्टराईले भने,‘ओलीतन्त्रमा प्रहरी र कर्मचारी सबै डराएका छन् ।’ प्रहरीले जाहेरी लिन नमानेपछि टेकु पुगेका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरू फर्किएका छन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइ पुर्याएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् । समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्