दमक,१४ बैशाख । झापाको दमकमा दुई दिनअघि एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछि दमक प्रवेश गर्नेहरुको लागि अनिवार्य ज्वरो परीक्षण गर्न थालिएको छ ।

संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै पश्चिम मोरङतर्फवाट छिर्ने सबै यात्रुहरुको आज विहानैदेखि ज्वरो परीक्षण गरिने कार्य शुरु गरिएको हो ।
पूर्वपश्चिम राजमार्गको दमक— ४ स्थित ताराबारी ढाँटमा ज्वरो नाँपेर मात्र दमक प्रवेश गर्न दिन थालिएको नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताए ।
मोरङको उर्लावारी हुँदै दमक प्रवेश गर्ने सबै यात्रुहरुको लेजर थर्मलगनद्वारा ज्वरोको परीक्षण शुरु गरिएको उनले बताए । सो कार्यका लागि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय झापा र रेडक्रस दमकले यसको संयोजन गरेका छन् । जहाँबाट आएको भएपनि यात्रुहरुलाई पनि जाँच हुनेछ ।
दमक— ३ स्थित जनता चौकका एक ६२ बर्षिय बृद्धमा कोरोनाको संक्रमण देखिएपछि दमकमा जारी बन्दाबन्दीलाई कडाई गरी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको नगर प्रमुख रोमनाथ ओलीले बताए । दमकको वडा नं ३ पूर्णरुपमा सिल गरिएको छ भने दमक ४ का केही भागमा पनि आउँजाउमा रोक लगाईएको छ ।
यसैवीच आजदेखि कोरोना संक्रमण देखिएको क्षेत्रका प्रभावित बासिन्दाहरुमा समेत संक्रमण फैलिएको हुन सक्ने भएकाले परीक्षण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको आधार बनाएर आरडीटीसहित स्वाब परीक्षण शुरु गरिएको नगर प्रमुख ओलीले बताए । त्यसका लागि दमक अस्पतालका प्रमुख डाक्टर खड्कलाल लिम्बूको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको टोली विहानैदेखि परिचालन गरिएको थियो । शनिवार मात्र नगरपालिकामा स्वाबको नमुना संकलन तथा आरडीटी परीक्षण लगायतको बिषयमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण समेत प्रदान गरिएको थियो ।
नगर प्रमुख ओलीका अनुसार कोरोना संक्रमण क्षेत्रमा आज विहानैदेखि संक्रमितको सम्पर्कमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आएकाहरुको (पहिलो घेरा ) पहिचान गर्दै ६० जनाको आरडीटी तथा पीसीआर परीक्षणको जाँच गरिएको छ । त्यस्तै, दमक वडा नम्बर ४ र ९ का ४ , ४ जना र विभिन्न अस्पतालबाट रेफर भईआएका ६ जना गरी ७४ जनाको आरडीटी तथा पीसीआर परीक्षणका नमुना संकलन गरिएको उनले वताएका छन् ।

हाल दमक अस्पतालको आइसोलेशनमा १ पुरुष र २ महिला गरी तीन जना रहेका छन् भने अन्य ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । ती सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
छिमेकी पालिकामा पनि सतर्कता
दमकसंगै जोडिएका झापा ,मोरङ र इलाम जिल्लाका पाँच वटा स्थानीय तहले पनि दमकमा कोरोना संक्रमित पुष्टि भएपछि सतर्कता अपनाउन थालेका छन् ।
पश्चिमतर्फ रहेका मोरङका उर्लाबारी तथा मिक्लाजुङ, पूर्वतर्फ इलामको चुलाचुली र झापाको कमल र दक्षिणमा रहेको झापाकै गौरादह नगरपालिकाले दमकसँगको सम्पर्कमा कडाइ गर्न थालेका हुन् । दमकमा संक्रमित पहिचान भएको वडा नं ३ र सोसँगै रहेको वडा नं २ चुलाचुलीको वडा नं ५ सँग जोडिएकाले हाललाई दमक जाने र दमकबाट आउने क्रमलाई कडाई गरिएको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । चुलाचुलीको लागि ठूलो बजार दमकमा नै निर्भर रहनु पर्ने अवस्था भएकाले दमक आउँजाउमा सावधानी अपनाउने निर्णय गरिएको उनले बताए ।
यता कमल गाउँपालिकाले पनि दमकमा कोरोना संक्रमण देखिएपछि जारी बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
यसैगरी दमकको पश्चिम क्षेत्रमा पर्ने मोरङको उर्लाबारी नगरपालिकाले समेत संक्रमण फैलिन नदिन आवतजावतमा थप कडाई गर्न थालिएको नगर प्रमुख खड्ग फागोले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्