राजेन्द्र गौतम, काँकडभिट्टा,१५ वैशाख । मुलुकको पूर्वीनाका झापासँग सीमा जोडिएका भारतीय भूमिमा सयौं नेपाली अलपत्र परेका छन् ।

काँकडभिट्टादेखि कुमरखोदसम्मको सीमा नाकामा दुई सयभन्दा बढी नेपाली केही दिन अघिदेखि अलपत्र परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सीमावर्ती भारतीय क्षेत्रमा नेपाली उद्दार र नेपाल आउने आसमा बसिरहेको बताए । उनीहरूलाई नेपाल ल्याउने प्रयास गरिए पनि प्राविधिक कारणले समस्या भएको ढकालको भनाइ छ ।झापासँग सीमा जोडिएका भारतीय क्षेत्रहरु लुवागढ,नक्सलबाडी, पानीट्यांकी, खोरीबारी,गलगलिया, ठाकुरगञ्ज, डिघलबैक,महेशपुर लगायत क्षेत्रबाट सयौं नेपालीलीले उद्दारका लागि आफूहरुसित आग्रह गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले बताए । पानीट्यांकीमा मात्रै ८७ जना नेपाली अलपत्र परेका छन् ।

‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्, ’सभापति ढकालले भने ,‘स्वदेश आउनका लागि १२० जनाले नाम टिपाएका छन्, अरु ५०— ६० जना रहेको जानकारी आएको छ ।’ उनीहरुलाई स्वदेश आउनका लागि कसैले प्रहरी, सामाजिक अभियन्ता र कसैले आफन्तमार्फत् नाम टिपाएको संयोजक डालमियाले बताए ।
उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको साइन्स ब्लक भवनमा एक सय बेडको क्वारेन्टाइन तयार गरिसकिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बीएससीएचआटीको भवन र साइन्स ब्लकमा सोही क्षमताको क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनाले काम गरिरहेको बताए ।
सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउने पहल भइरहेको र त्यसका लागि पूर्व तयारी अनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।
अलपत्र नेपाली झापा आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षण गरिने र निश्चित समयपछि घर जान दिइने झापा प्रशासनले जनाएको छ । झापाको पुरानो सदरमुकाम झापा बजार र कुमरखोद क्षेत्रबाट शनिबार लुकीछिपी २० — २५ जना नेपाल प्रवेश गर्ने प्रयास गरेका थिए । तर उनीहरूलाई त्यहाँ रहेको सशस्त्र प्रहरीको बोर्डर अप्रेसन पोस्ट ( बिओपी ) को जनशक्तिले भारत नै फर्काइ दिएको छ । सीमा क्षेत्रबाट नेपालीहरु मकैबारी तथा चियाबगानमा लुकेर बसेको र नेपाल छिर्ने प्रयास गरिरहेको स्थानीयको भनाइ छ । त्यसरी सीमामा अलपत्र परेका र नेपाल छिर्न प्रयास गरिरहेकाहरु रुपन्देही, नवलपरासी र परासी पश्चिम कर्णाली प्रदेशसम्मका भएको बताइएको छ । झापाका ५ देखि १० प्रतिशत पनि नभएको सभापति ढकालले बताए । झापा प्रशासन, सामाजिक संघसंस्था तथा अभियन्ताहरु अलपत्र नेपालीलाई झापा ल्याउन तयारी अवस्थामा रहे पनि सरकारको निर्देशन पर्खनु पर्ने बाध्यता रहेको नाम उल्लेख नगर्ने शर्तमा एक सामाजिक अगुवाले बताए । उच्च सरकारी स्रोतलाई उल्लेख गर्दै उनले भने,“ नेपाल र भारत सरकारका प्रतिनिधिबीच भएको कुरामा भारतीय पक्ष नेपाल पठाउन राजी छ तर नेपाल सरकारका प्रतिनिधिले मानिरहेका छैनन् ।“

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्