बिर्तामोड, बैशाख १५ । बाह्रदशी गाउँपालिका – ४ निवासी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाको संक्रमित क्षेत्र सिल गरिएको छ ।

गाउँपालिकाले सतर्कता अपनाउँदै संक्रमण फैलन सक्ने क्षेत्र लकडाउनको अबधि बैशाख २५ गतेसम्मका लागि सिल गरेको हो । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा आज बिहान बसेको बैठकले गाउँपालिकाको संक्रमित क्षेत्रमा आवतजावत गर्न निषेध गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको पूर्वमा साविक चकचकी गाविसको सिमाना कंचनमार्ग, पश्चिममा विरिङ खोला, उत्तरमा साविक चकचकीको सिमाना पाख्रिवास र दक्षिणमा राधानगर र घाग्रा खोलासम्मको चार किल्ला भू– भाग सिल गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजवंशीले बताए । सिल गरिएको क्षेत्रले तीनवटा वडा छोएको छ । वडा नं ४ को सम्पूर्ण भूभाग तथा छिमेकी वडा नं ३ र ५ को सामान्य भूभाग सिल गरिएको हो । बैठकले गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन गरेको छ । जसमा गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहेका छन् ।
नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि बाह्रदशी ४ का ४९ वर्षिय मुस्लिम धर्मगुरु (मुल्बी)मा कोरोना संक्रमणको पुष्टि भएको हो ।

हिजो विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँमा त्रास फैलिएको छ । कोरोना संक्रमितबाट थप ब्यक्तिहरुमा सरेको हुन सक्ने भएकाले भालिबाट परीक्षण शुरु गरिने भएको छ । संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको आधार बनाएर परीक्षण शुरु गरिने गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको ३ वटा छुट्टाछुटै टोली भोलि विहानैदेखि संक्रमण क्षेत्रमा परिचालन हुने गाउँपालिका अध्यक्ष राजवंशीले बताए । प्रत्येक टोलीले एक दिनमा ३०—३० घरका दरले परीक्षण गर्ने जनाइएको छ । संक्रमितको ट्राभल हिस्ट्रि हेर्दा दिल्लीबाट फर्केर उनले धेरैजनासंग भेटघाट गरेका छन् । स्थानीय मदरसामा पढाउने गरेका उनी बिद्यार्थीहरुको सम्पर्कमा पनि पुगेको जनाइएको छ । होम क्वारेन्टाइनमा बसेका संक्रमितको परिवारमा श्रीमती र दुई सन्तान रहेका छन् ।३०—३५ जनासँग उनको प्रत्यक्ष सम्पर्क रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ ।
बाह्रदशीमा संक्रमण देखिएसंगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यस अघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्