झापा । महामारी ,दैवी विपत्ति, आपदविपद र अरु त्यस्तै संकटको बेला जनस्तरसम्म पुग्ने मेची अभियान कोरोना संक्रमणको त्रासको यो बेला पनि उत्तिकै सक्रिय छ । लकडाउनको समयमा मास्क, पिपिई, डिसइन्फेक्सन टनेल (सेनिटाइजर स्टल) निर्माण र वितरण गर्दै गरेको अभियानले पछिल्लोपटक अलपत्र परेकालाई खाद्यान्न उपलब्ध गराउने र घरसम्म ल्याउने काम थालेको छ ।
अभियानले मंगलबार काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । ती सबै झापा मेचीनगरका विद्यार्थी हुन् । काकडभिट्टाबाट हिजो गाडी पठाएर उनीहरूलाई निशुल्क घर आउने वातावरण बनाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए । काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका उनीहरु केही समयमा चारआली आइपुग्ने र उनीहरूको रेकर्ड राखेर घरघर पठाउने उनले बताए । उनीहरू होम क्वारेन्टाइनमा बस्ने जनाइएको छ । परिवारसँग भिन्न भएर लामो समय एक्लै बस्दा विद्यार्थीमा निरासा जाग्ने, तनाव हुने र मनोवैज्ञानिक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरूलाई घरसम्म ल्याउने काम गरेको उनले जानकारी दिए ।
काठमाडौंमा भएका मेची अभियानका सदस्यसँगको समन्वयमा विद्यार्थीलाई झापा ल्याइएको हो । काठमाडौँबाट झापा आउन लाग्दा तीन पटक प्रहरीले गाडी रोकेको थियो । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेर राति ८.३० गाडी झापा पठाएका थिए । राति शर्मा सडकमा आएर विद्यार्थीलाई बिदाइ गरि झापा पठाएका हुन् । शर्माको अगुवाइमा अभियान २०७२ को विनाशकारी भुकम्प पछि सुरु भएको थियोे । त्यसैबेला अभियानले रामेछाप, सिन्धुपाल्चोक,काभ्रे रसुवा लगायतका जिल्लामा घर र विद्यालय गरे ७० भन्दा बढी भौतिक संरचना निर्माण गरेको थियो । त्यसपछि पनि अभियान हरेक आपद विपदमा सक्रिय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्