इन्द्रसिंह राजवंशी,
बिर्तामोड, बैशाख १६ । कोरोना भाइरसको महामारीले लगाएको लकडाउनका कारण बेरोजगार भएपछि यतिबेला गाउँघरमा सब्जी बेच्नेहरुको संख्या बढ्दै गएको छ ।

उपभोक्ताहरु सब्जी किन्न बजार जान नसकेको र मुल्य पनि राम्रो पाइने भएकाले मानिसहरुले घुमन्ते व्यापारलाई आम्दानीको स्रोतको रुपमा लिएका छन् । केरियर, अटोरिक्सा, सिटी, रिक्सा भेन र साइकलमा सब्जी र फलफूल डुलाउँदै बेच्नेहरु निकै भेटिन्छन् । जसबाट उपभोक्ताहरुले घरदैलोमै सब्जी पाउने गरेका छन् भने बिक्री गर्नेको पनि राम्रै कमाइ हुने गरेको छ ।

उमेरले ६० पुग्न लागेका बिर्तामोड —९ का देवी ओली पेशाले किसान हुन् । व्यापार राम्रो चल्ने देखेर उनले सिटी रिक्सामा सब्जी बेच्न थालेको एक महिना भइसक्यो । ‘राम्रै चलेको छ’ उनले भने,‘दिनको २ हजारसम्म आम्दानी हुन्छ ।’ आफ्नो करेसाबारी र गाउँघरको सब्जी भेला गरेर उनी बिक्री गर्ने गर्छन् । ‘केही तरकारी बिर्तामोडबाट थोक किनेर घरघरमा बेच्ने गरेको छु ’उनले भने । लकडाउनमा खाद्यान्न पसल खुल्ने समयको सदुपयोग गर्दै उनले व्यापार गर्ने गरेका छन् । अरुबेला पनि सिटी रिक्सा लिएर तरकारी बेच्दै हिड्दा कहिलेकाहि प्रहरीले रोक्ने गरेको उनले बताए ।
त्यसैगरी बिर्तामोड— ९ का किसानको बारीमा सब्जी खोज्दै गरेको अबस्थामा एक महिला भेटिइन् । बिर्तामोड —६की मुस्लिम समुदायकी ती महिला निर्माण मजदुर हुन् । लकडाउनका कारण काम बन्द भएपछि उनले पनि सब्जी व्यापार थालेकी छन् । परिवार चलाउनकै लागि आफूले यो विकल्प अपनाएको उनले बताइन् ।

त्यस्तै उमेरले ७ दशक पुगेकी हल्दिबारी— २ की दुर्गामाया राउत साइकलमा बिर्तामोडदेखि सब्जी ल्याएर गाउँमा व्यापार गर्छिन् । पहिलादेखि व्यापार गर्दै आएकी बृद्धा दुर्गामायाले लकडाउनमा पनि त्यसलाई निरन्तरता दिएकी हुन् ।‘रायो साग प्रतिमुठा १० रुपैयाँमा किनेँ’ उनले भनिन् ,‘यसलाई २० रुपैयाँमा बेच्छु ।’करेला, घिरौला, टमाटर, प्याजजस्ता तरकारीमा किलोमा ३०—४० रुपैयाँ छुट्ने गरेको दुर्गामायाले बताइन् । पहिला दिनको हजार—पन्ध्र सय कमाउने गरेकी उनी भन्छिन्,‘ अहिले पनि राम्रै कमाइ हुन्छ ।’ गत चैत ११ गतेदेखि लकडाउन लागु भएपछि शुरुका दिनमा बिर्तामोड नगरपालिकाले गाडीमा हालेर टोलटोलमा सब्जी बिक्री गर्ने गरेको थियो । तर, त्यसको देखासिकी गर्दै अरुले पनि गर्न थालेपछि अहिले नगरपालिकाको त्यो घुम्ती व्यापार बन्द भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्