मेचीनगर, १७ मंसिर । मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ ।

नोवल कोरोना भाइरस (कोभिड —१९ )को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको बन्दाबन्दीका कारण अत्यावश्यक सवारी साधन सञ्चालनका लागि नगरपालिकाले दिएको अनुमति खारेज गरी अब उप्रान्त लकडाउन अवधिभर आवश्यकता अनुसार नगर कार्यपालिकाको कार्यालयबाट नगरभित्र मात्र लागू हुने गरी सवारी अनुमतिपत्र लिएर सवारी साधन सञ्चालन गर्न नगरपालिकाले भनेको छ ।
नोवल कोरोना भाइरस कोभिड— १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म नगरपालिकाले भए गरेका काम र त्यसबाट प्राप्त उपलब्धिका बारेमा जानकारी दिने उद्घेश्यले आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख विमल आचार्यले उक्त जानकारी गराएका हुन् ।

नगर प्रमुखको कार्यकक्षमा सामाजिक दुरी पालना गरी आयोजित पत्रकार सम्मेलनमा नोवल कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई मेचीनगर नगरपालिका क्षेत्रभित्र व्यवस्थित र प्रभावकारी बनाउनका लागि योसहित अन्य व्यवस्था लागू गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
लकडाउन अवधिभर अनुमति प्राप्त गरेका बाहेक मोटरसाइकलसहित अन्य कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाईने, लकडाउन अवधिभर नगर बाहिरबाट नगरमा बसोवास गर्ने गरी प्रवेश गर्न नपाईने, यदि लकडाउन उल्लंघन गरी नगरपालिका क्षेत्रभित्र प्रवेश गरेमा सम्बन्धित वडा कार्यालयले तोकेको क्वारेन्टाइनमा १५ दिन बस्नुपर्ने र सो अवधिभर खाने र सुत्ने व्यवस्था आफैले गर्नुपर्ने, अत्यावश्यक दैनिक खाद्य सामग्री तथा सागसब्जी खरिद विक्रीका लागि प्रत्येक दिन विहान ६ देखि ११ बजेसम्म पसल खुला गर्न पाईने, विरामी स्वयम् आफै स्वास्थ्य परीक्षणमा गएर उपचार गर्नुपर्ने अवस्थावाहेक नियमित औषधी सेवनकर्ताले समेत औषधी खरिदको समय विहान ६ देखि ११ बजेसम्म मात्र हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्