बिर्तामोड, बैशाख १९ । कोरोना भाईरस कोभिड १९ महामारीका कारण खाद्यान्न अभाव भएर समस्यामा परेका व्यक्ति परिवारलाई खाद्य सामग्री सहयोग गर्नका लागि ‘एकका लागि एक ‘ अभियान शुरु गरिएको छ ।

शनिबार बिर्तामोड–२, स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका हुन् ।
रानाले कोरोना कहरको कारण देशनै लकडाउन भएपछि समग्र क्षेत्र प्रभावित बनिरहेको अबस्थामा अझ दैनिक श्रम गरेर खाने विपन्न परिवारलाई आज मजदुर दिवसको दिनबाट राहत वितरण गर्न सुरु गरेकोमा अभियन्ता र सहयोगी दाताहरुलाई धन्यवाद दिए ।

एकका लागि एक अभियानमा १७ भन्दाबढी संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । सहभागी जनाउने संस्थाहरुमा सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाईटी झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, उद्योग बाणिज्य संघ बिर्तामोड, गैरसरकारी संस्था महासंघ, वीरता जेसीज, जिल्ला उद्योग संघ झापा, लायन्स क्लव अफ सुरुंगा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मेची पेट्रोलियम व्यवसायी संघ, रामचोक युवा समूहलगायत रहेका छन् ।
हरेक संस्थाले सहयोग बापतको रकम जम्मा गरेका छन् । त्यसैगरी देश बिदेशमा रहने नेपालीहरुले पनि सहयोग रकम पठाएका छन् । हालसम्ममा १२ सय परिवारका लागि राहत जुटिसकेको बताईएको छ । सोवापत १७ लाख रुपैयाँ जम्मा भईसकेको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको जानकारी दिईएको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद कोईराला, बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, लायन्स क्लव अफ सुरुंगाका संस्थापक अध्यक्ष लिला चिमरिया, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्