मेचीनगर , बैशाख २० । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले मेचीनगर नगरपालिका क्षेत्रभित्रका क्वारेन्टाइनकोे अवस्था र सीमाक्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगमनसहित जानकारी लिएको छ ।

अधिकांश अस्थायी प्रहरी पोष्टमा बस्नका लागि उचित आवास, पिउनका लागि स्वच्छ पानी , विद्युत र सञ्चारको समस्या त्यहाँ कार्यरत सुरक्षाकर्मीले व्यहोरिरहेको अनुगमन टोलीले जनाएको छ ।

समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा सुरक्षा निकायका अधिकारी सहभागि टोलीले मेचीनगर—८ स्थित आदर्श माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याइएको विशेष क्वारेन्टाइनको स्थलगत अवलोकन गरी सो वारेमा जानकारी लिएको थियो । मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विशेष क्वारेन्टाइन सञ्चालनमा ल्याउनुपर्ने कारणका बारेमा टोलीलाई जानकारी गराएकी थिइन् । उनले कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको अनुगमन टोलीलाई जानकारी गराइन् । उक्त क्वारेन्टाइनमा झापासहित मोेरङ, इलाम र सुनसरीका ५ दर्जनबढी लागूऔषध प्रयोगकर्तालाई राखिएकोे छ ।
पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र कडा सुरक्षाका साथ क्वारेन्टाइनमा राखिएका उनीहरुको औषधी उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीको भनाइ थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले लागूऔषध प्रयोग गरेको सूूचना पाए वा प्र्रहरीलाई शंका लागे घरबाटै नियन्त्रणमा लिने गरिरएको बताए । यसैगरी टोलीले झापाको मेचीनगर र इलामको रोङ गाउपालिकाको उत्तरी सीमाक्षेत्र भद्रपुर नगरपालिकासँग जोडिएको दक्षिण क्षेत्रसम्मको ४४ किलोमिटरमा खडा गरिएका अस्थायी प्रहरी पोस्टका बारेमा समेत स्थलगत निरीक्षण गदैं त्यसका बारेमा जानकारी लिएको थियो ।
नोवल कोरोना भाइरस (कोभिड— १९) को संक्रमण नियनत्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका अवधिमा खुला सीमाका कारण अबैधरुपमा मानिसको आवतजावत नहोस् भन्ने उद्घेश्यले सीमाक्षेत्रमा सशस्त्र प्रहरीका २५ वटा अस्थायी पोष्ट खडा गरिएको छ । त्यति नै संख्यामा नेपाल प्रहरीको पनि पोष्ट रहेको प्रहरी नायव उपरीक्षक पोखरेलले अनुगमन टोलीलाई जानकारी गराए ।

हरेक पोष्टमा बस्नको लागि आवास, खाना, विद्युत, पिउने पानीसहित सञ्चारको समस्या रहेको टोलीलाई अवगत गराइएको थियो ।अनुगमनपश्चात् जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले सवै पालिकासँग सहकार्य र समन्वय गरी विशेष क्वारेन्टाइन र अस्थायी प्रहरी पोष्टको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्ने आश्वसन दिए । टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेकपा झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेसका झापा सभापति उद्घव थापा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष कमलप्रसाद खरेल, राजपाका झापा जिल्ला अध्यक्ष अनुतसिहं राजवंशी, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, सशस्त्र प्रहरी उपरक्षिक रेशमकुमार थक्सु, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, जिल्ला समन्वय समितिका नायव सुब्बा भानु भट्टराईलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्