झापा, वैशाख २० । धेरै चासोसाथ हेरिएको सत्तारुढ नेकपा सचिवालय बैठक आज बस्दैछ ।

साँझ साढे ५ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद तथा सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेकपाका शीर्ष नेताहरुले आन्तरिक भेटघाट र छलफल तीव्र पारिरहेका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, तथा अर्का नेता माधवकुमार नेपाल पक्षधरका अलग अलग भेट र छलफल भइरहेको स्रोतले जनाएको छ । आज अध्यक्ष दाहालले खुमलटारस्थित आफ्नै निवासमा बिहानैदेखि पूर्वमाओवादीका केही नेताहरू बोलाएर परामर्श लिएको बताइएको छ ।
पछिल्लो समय सरकार सञ्चालनमा कमजोरी भइरहेको र पार्टीभित्र छलफल नगरी प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढ्न थालेको भन्दै नेकपामा तीव्र असन्तुष्टि पैदा भएको छ । ओलीको विकल्प खोज्नुपर्ने लगायत माग उठेपछि विवाद समाधान गर्न र सहमति खोज्न अनेक प्रयास भइरहेको नेकपा स्रोत बताउँछ । आजको बैठकमा मूलतः यिनै विवादको समाधानका लागि ठोस छलफल हुने अपेक्षा गरिएको छ । यसैका लागि नेकपाका शीर्ष नेता मात्र होइन, दोस्रो तहका नेता तथा सांसदसमेत सक्रिय देखिएका छन् । उनीहरूले पार्टीमा मतभेद बढाउने भन्दा पनि सहमतिको प्रयासमा जोड दिइरहेको बताइएको छ ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा ठोस छलफल हुने सकेन । प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । यसबारे पनि आजको बैठकमा नै ठोस छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्