भद्रपुर,बैशाख २१ । कोरोना भाइरसको महामारीबाट जोगिन मेची अभियानका संयोजक विजय डालमियाले धेरै कार्यालयलाई डिस इन्फेक्सन टनेल बनाइदिए ।संक्रमण रोक्नका लागि बाहिरबाट आउने ब्यक्तिलाई पुरै सेनिटाइज गरेर मात्र छिर्न दिने ब्यबस्था सबै कार्यालयहरुले गर्नुपर्ने आबश्यकता यतिखेर खड्किएको हो । त्यसकारण नेपाल बिद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले कसैको आश नगरी आफ्नै कार्यालयमा उपलब्ध सामानबाट डिस इन्फेक्सन टनेल बनाएका छन् ।

डिस इन्फेक्सन टनेल

कार्यालयमा भएका फलामको च्यानल, मोटर, ट्यांकी, नोजलजस्ता सामानलाई उपयोग गरी उनले डिस इन्फेक्सन टनेल बनाएका हुन् । ‘कार्यालयमा भएको २ सय लिटरको ट्यांकी, हाफ इन्चको मोटर , नोजल प्रयोग गरी मैले यो डिस इन्फेक्सन टनेल बनाएँ’ कार्यालय प्रमुख शाहले भने,‘ चाहँदा हामी यो काम आफै गर्न सक्छौँ ।’ कार्यालयमा आउने ग्राहक र कर्मचारीलाई डिस इन्फेक्सन टनेलमा सेनिटाइज गरेर मात्र भित्र प्रवेश गर्न दिइएको उनले बताए । त्यसभन्दा अगाडि थर्मल गनले तापक्रम नाप्ने अनि अटोमेटिक धारामा साबुन पानीले हात धुनुपर्ने नियम बनाइएको उनले जनाए ।

कार्यालय प्रमुख शाह

विश्वव्यापी कारोना भाइरसको महामारीबाट जोगिन हरसंभव प्रयास गरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए । कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्राधिकरणले कार्यालय वरिपरि विषादी स्प्रे गर्ने कार्यक्रम पनि बनाएको छ । स्प्रे गर्नका लागि दुईवटा ट्यांकी किनेर ल्याएको उनले बताए । गत भदौदेखि भद्रपुर वितरण केन्द्रको जिम्मेवारी सम्हालेका शाहले कार्यालयलाई ब्यबस्थित बनाउँदै लगेका छन् ।

वितरण केन्द्र

ग्राहकहरुलाई इन्डोर सुबिधा, ब्यवस्थित फाइलिङ, मिटिङ हल, गेष्ट रुमलगायतका सुबिधा ब्यवस्थापन गरिएको उनको भनाइ छ । प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत २८ हजार ग्राहक रहेका छन् । ती ग्राहकलाई ७० जना कर्मचारीहरुले सेवा दिने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्