झापा, २३ बैशाख । पश्चिम दक्षिणी झापाको नेपाल— भारत सीमा क्षेत्रमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि बल प्रयोग गरी जवरजस्ती नेपाल प्रवेश गर्न खोज्दा गोली चलेको ठाउँको आज जिल्लाका प्रमुखहरुले अनुगमन गरेका छन् ।

पहरा दिदै नेपाली सुरक्षाकर्मी

जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सूलगायतको टोलीले घटनाबारे जानकारी लिदै घटनास्थलको अनुगमन गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । हिजो बेलुका डेढ सय बढी भारतीय नागरिकहरु नेपाली सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका थिए । झापा गाउँपालिका— ४ स्थित सुकुम्वासी टोल नजिकै बेलुका ५ बजेतिर सो घटना भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर जंगे पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिक समूहलाई खेदाउन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीका एसपी थक्सूले जानकारी दिए ।सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको उनको भनाइ छ । शुरुमा दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ देखि दुई सय गाउँले भेला गरी पुनः सीमामा लिएर आएका थिए । सिमावर्ती भारतको धनतोला पञ्चायतबाट घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिकहरु त्यहाँबाट भागेका थिए । घटनामा सशस्त्र प्रहरीका दुईजना जवान सामान्य घाइते भएका छन् ।

घटनाका बारेमा आज बिहान भारत धनतोलाका जनप्रतिनिधि, प्रहरी प्रमुख र एसएसबीलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष शाहले बताए । ‘ हामीले भारतीय पक्षलाई घटनाबारे जानकारी दिएका छौँ’ उनले भने,‘ उहाँहरुले अब फेरि त्यस्तो घटना हुन नदिने र दोषीलाई कार्बाही गर्ने आश्वासन दिनुभएको छ ।’ नेपालमा रहेका आफन्तलाई भेट्न भन्दै ती दुई भारतीय आउन खोजेपनि कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न नेपालतर्फका सुरक्षाकर्मीले सीमामा कडाई गरेपछि तस्कर समूह आक्रोशित भएर हुलहुज्जत गर्न आएको हुनसक्ने अनुमान गरिएको छ ।
हाल त्यहाँ उच्च सतर्कता अपनाइएको छ । त्यहाँको आउटपोष्टमा गएराति नै ४० जना सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वयमा सीमा सुरक्षा गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्