मनिषा चम्लागाईँ । झापा, वैशाख २४ । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले नमुना एकीकृत खेतीमार्फत लगाएको हाइब्रिड मकैमा दाना लाग्न सकेको छैन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले उपलब्ध गराएको बीउमा उमार शक्ति कमजोर भएकाले आवश्यक मात्रामा भाले मकै उम्रन नसक्दा दाना नलागेको हो । फूल फूल्ने बेलामा भाले मकैको कण नभएको कारण मकैमा दाना लाग्न नसकेको एकीकृत खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।
बीउको ‘टेष्टिङ’ नगरी मकै बाली लगाउँदा समस्या भएको चापागाईं बताउँछन् । “सरकारले उपलब्ध गराएको बीउ भनेर हामीले कुनै पनि टेष्टिङ गरेनौँ” चापागाईंले भने, “राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले समेत टेष्टिङ नगरी बीउ उपलब्ध गराएका थियो ।” नमुना एकीकृत खेतीमार्फत लगाएको मध्ये १० प्रतिशत मात्र भाले मकै उम्रिएको छ । “त्यसमा निषेचनको समयमा आएको असिना पानीले गर्दा भाले कण बगेकाले दाना लाग्न नसकेको हो” चापागाईं भन्छन् ।
यस वर्ष नमुना एकीकृत खेतीले ६ हेक्टर क्षेत्रफलमा हाइब्रिड मकैको बीउ लगाएको थियो । डेढ हेक्टर क्षेत्रफल एउटा पनि भाले मकै नउम्रिएकाले पोथी मकै काट्नु परेको चापागाईं बताउँछन् । एक हेक्टरमा २.५ मेट्रिक टनसम्म हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकिने हुदाँ एकीकृत खेतीले यस वर्ष १८ मेट्रिक टन मकैको बीउ उत्पादन गर्ने लक्ष्य राखेको थियो । एक हेक्टरमा उत्पादित २.५ मेट्रिक टन मकैको बजार मूल्य ९ लाख बढी हुन्छ । तर, एकीकृत खेतीलाई यस वर्ष लागतसमेत उठाउन समस्या हुने अवस्था आएको एकीकृत खेतीका सदस्य हेम घिमिरेले बताए ।
एकीकृत खेतीले यस वर्ष १ सय २० किलो बीउ लगाएको थियो । १ हेक्टर जमिनमा २० किलो हाइब्रिड मकैको बीउ आवश्यक पर्छ । त्यसमा १६ किलो पोथी जातको र ४ किलो भाले जातको बीउ आवश्यक हुन्छ । “हाइब्रिड मकैको बीउ रोप्दा चार ड्याङ पोथी जातको मकै बराबर १ ड्याङ भाले जातको मकै लगाइन्छ” घिमिरे भन्छन् । “६ हेक्टरमा ५४ लाख बढीको मकैको बीउ उत्पादन गर्ने लक्ष्य थियो” घिमिरेले भने, “एक हेक्टरमा १ लाख बराबरको मकैको बीउसमेत उत्पादन नहुने देखिन्छ ।” एकिकृत खेतीले गत वर्षदेखि हाइब्रिड मकैको बीउ उत्पादन शुरु गरेको हो । गत वर्ष १ हेक्टरमा लगाइएको मकैबाट २.२ मेट्रिक टन हाइब्रिड मकै उत्पादन गरेको थियो ।
नेपालमा वार्षिक १० हजार मेट्रिक टन हाइब्रिड मकैको बीउ खपत हुन्छ । गत वर्ष नेपालमा चार मेट्रिक टन मात्र हाइब्रिड मकैको बीउ उत्पादन भएको बाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्यांकमा उल्लेख छ । बाँकी बहुराष्ट्रिय कम्पनीका मकैको बीउ नेपाल भित्र्ने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. केशवबाबु कोइराला बताउँछन् । गत वर्ष उत्पादन भएको ४ मेट्रिक टन हाइब्रिड मकै मध्ये उक्त नमुना एकीकृत खेतीले २.२ मेट्रिक टन मकै उत्पादन गरेको थियो । देशभरमा चार मेट्रिक टन उत्पादन भएको रामपुर १० जातको बीउमध्ये समूहले मात्र दुई टन र बाँकी २.५ मेट्रिक टन मकै लुम्बिनी सीड उत्पादन कम्पनीले गरेको थियो । नेपालमा ९ लाख ५८ हजार हेक्टर जमिनमा मकै खेती गर्न सकिन्छ ।
नेपालले विकास गरेको हाइब्रिड जातको मकैको उत्पादन ७ देखि ९ मेट्रिक टनसम्म रहने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । तराईका जिल्लामा ७५ हजार हेक्टरमा मात्र हाइब्रिड जातको मकै लगाइने गरिएको तथ्यांक रहेको छ । थोरै जमिनमा बढी उत्पादन लिन सकिने, भूगोल अनुसार सुहाउँदो हाइब्रिड मकै नेपालको तराई, भित्री मधेस र पहाडी उपत्यका लगायत क्षेत्रमा उत्पादन गर्न सकिने प्रमुख डा. कोइराला बताउँछन् । उत्पादन र उत्पादकत्व बढाउन पछिल्लो समय तराई क्षेत्रका कृषकको रोजाइमा हाइब्रिड मकै पर्ने गरेको छ । विभिन्न बालीका उन्नत बीउ उत्पादनमा किसानको सहभागिता बढ्दै गए पनि नेपाली कृषक वाह्य देशको मकैको बीउ प्रयोग गर्न बाध्य छन् ।
हुँदैन कृषि अनुसन्धान
नेपालमा कृषि क्षेत्रमा गरिने अनुसन्धान कमजोर भएकाले आफूहरुले लागतसमेत गुमाउन बाध्य हुनु परेको कृषक बताउँछन् । सरकारले उपलब्ध गराएको बीउबाटै उत्पादन लिन नसकेको एकिकृत खेतीका अध्यक्ष चापागाईंले बताए । चालु आर्थिक वर्षमा नेपाल कृषि अनुसन्धान परिषद्ले हाइब्रिड मकैको विकास, अध्ययन र अनुसन्धानका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अध्ययन र अनुसन्धानका लागि बिनियोजित बजेट नै सीमित रहेको डा. कोइरालाको भनाई छ । सरकारले हाइब्रिड जातको मकैको उत्पादन बढाउन लगानी वृद्धि, दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक रहेको उनी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्